Logo
८ जेष्ठ २०८१, मंगलबार
(March 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिक आस्था माथि होइन् संविधान विरोधी क्रियाकलापमाथि प्रतिबन्ध लगाएका हौँ

सुर्खेत : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई नभई उसको क्रियाकलापलाई प्रतिवन्ध लगाएको बताएका छन् । विप्लव नेतृत्वको नेकपा संविधानअनुसार कहि पनि दर्ता नभएकाले आधिकारीक पार्टी नभएको बताए ।

शुक्रबार सुर्खेतमा राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना गरेको तहगत राज्य संरचनाको विकासमा समन्वय विषयक प्रादेशिक अन्र्तक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री ढकालले नेपालमा उक्त दल संविधानअनुरुप दर्ता नभएको बताएका हुन् । ‘उक्त दल नै नेपालमा दर्ता नै छैन । ’विप्लव नेतृत्वको नेकपा प्रति लक्षित गर्दै मन्त्री ढकालले भने, ‘सरकारले लगाएको प्रतिबन्धलाई दृढतापूर्वक कार्यान्वयन गरेर लैजान्छ, ढकालले भने ’जनताको जीउ धनको सुरक्षा गर्ने जिम्मा सरकारको हो ।’

उनले सरकाररले कसैको राजनीतिक आस्था माथि प्रतिबन्ध नलगाएको बताउदै संविधान विरोधी क्रियाकलापलाई प्रतिवन्ध लगाईएको स्पष्ट पारे । ‘जनप्रतिनिधिलाई धम्क्याउने, बम हान्ने, मान्छे मार्ने, चन्दा आतंक सिर्जना गर्ने जस्ता संविधान विरोधी कार्य गरेकाले हामीले प्रतिबन्ध लगाएका हौं ।’ उनले भने, ‘सरकारले लगाएको प्रतिबन्ध प्रति प्रमुख प्रतिपक्ष दल पनि सकारात्मक रहेको छ ।’

विखण्डनकारी सीके रावतलाई राज्यको मूलधारमा ल्याउन सरकार सफल भएको मन्त्री ढकालको भनाई छ । तर पार्टी भित्र केहि असन्तुष्टी देखिए जस्तो भएपनि देश नै टुक्राउँछु भन्नेलाई संविधानअनुसार नै मुलधारमा ल्याउन सक्नु सरकारको सफलताको भएको उनको भनाइ छ । मन्त्री ढकालले पुराना ३३९ ओटा कानुन मध्ये पाँच ओटा कानून खारेज गरिएको र १९५ ओटा कानूनलाई संघीयता र संविधान अनुकुल हुने गरि परिमार्जन तथा संशोधन गरिएको बताए ।

‘अहिलेसम्म हामीले संसदबाट ३१ ओटा कानून पारित गरिसकेका छौं, ३१ वटा कानूनहरु संसदका विभिन्न समितिहरुमा छलफलका क्रममा रहेका छन् भने २१ ओटा कानून संसदमा लैजान मन्त्रीपरिषदबाट स्वीकृति प्राप्त भइ संसदमा केहि दिनमा टेबुल गर्दैछौं ।’ मन्त्री ढकालले भने, ‘अब कानून निर्माण पनि हुन्छन्, सरकारले गति पनि लिन्छ ।’ मन्त्री ढकालले आगामी चुनावमा प्रदेशका सांसदले संघमा जाने, संघकाले प्रदेशमा आउन सक्ने र स्थानीय तहका जनप्रतिनिधिले प्रदेश तथा संघमा जाने अवस्था सिर्जना हुने भन्दै गम्भिर भएर काम गर्न सबैलाई आग्रह गरे ।

प्रकाशित मिति: Mar 15, 2019

प्रतिक्रिया दिनुहोस्