पश्चिम अफगानिस्तानमा भिडन्त : ११ सुरक्षा अधिकारीको मृत्यु, दर्जनौं घाइते
काबुल : अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकू र सुरक्षा फौजबीच गएराति भएको भिडन्तमा कम्तीमा ११ सुरक्षाकर्मीको मृत्यु भएको छ । यस आक्रमण्मा परी अरु दर्जनौं प्रहरी घाइते भएको स्थानीय सञ्चारमाध्यम टोलो टेलिभिजन च्यानलले जनाएको छ ।
प्रान्तीय राजधानी कला-ए-नाउबाट उत्तरमा पर्ने यस इलाकामा सोमबार राति दर्जनौं सङ्ख्यामा सशस्त्र तालिबान लडाकूहरु बन्दुक र भारी हातहतियारका साथ भीषण आक्रमण गरेको प्रान्तीय सरकारका प्रमुख जियाउला हक फिरोजले जानकारी दिएका छन् । यद्यपि, यस झडपमा परी कैयौं आतङ्ककारी पनि मारिएका तथा घाइते भएका फिरोजले दाबी गरेका छन् ।
यो स्थान अफगानिस्तानको राजधानी काबुलबाट ५५५ किलोमिटर टाढा छ । गत आइतबार पनि बाला मुर्घाब जिल्लामा रहेको सेनाको शिविरमा तालिवान लडाकू समूहले गरेको आक्रमणमा २० भन्दा बढी सैनिक मारिनुको साथै २८ जना घाइते भएका थिए । -सिन्ह्वा