Logo
२५ बैशाख २०८१, मंगलबार
(March 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एयरबसको इन्जिन मर्मत ठेक्का रद्द नगर्न निगमलाई निर्देशन

काठमाडौं : संघीय संसदको सार्वजनिक लेखा समितिले एयरबस-३२० विमानको इन्जिन मर्मतको ठेक्का प्रक्रिया रद्द नगर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएको छ ।

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले ठेक्का प्रक्रिया रद्द गरी रिटेन्डरको तयारी गर्नु सार्वजनिक खरिद ऐन विपरित हुने निष्कर्ष निकाल्दै निगमलाई पूरानै ठेक्का प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । मूल्यका हिसावले समेत पूरानै ठेक्का प्रक्रिया अघि बढाउन उपयुक्त हुने देखिएकाले सोही अनुसारको निर्देशन निगमलाई दिइएको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

समितिको यस अघि बसेको बैठकले सो टेन्डर प्रक्रियामा घोटाला भएको हुन सक्ने आशंका गर्दै विमान मर्मत तथा इन्जिन भाँडामा लिने सम्बन्धि ठेक्का प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको थियो । सस्तोमा टेण्डर गरेको लुप्थान्सालाई समेत सो ठेक्का प्रक्रियामा सहभागी गराउन पनि निगमलाई समितिले निर्देश गरेको छ ।

निगमले प्रभावग्राही नभएको भन्दै सो ठेक्का प्रक्रियाबाटै लुप्थान्सालाई हटाएको थियो । तर समितिले छानवीनको क्रममा सो कम्पनीको इन्जिन मर्मतको ठेक्का सार्वजनिक खरिद ऐन र निगमको आर्थिक विनियमावली अनुसारनै रहेको ठहर गरी सो ठेक्का प्रक्रिया नहटाउन निगमलाई सचेत गराएको हो । बैठकमा समितिका सदस्यहरुले निगमले अरबौंको घाटा मुलुकलाई हुने गरी सो विमानको इन्जिन ममर्तसम्बन्धि ठेक्का प्रक्रिया रद्द गरेको भन्दै आपत्ति जनाएका थिए ।

समितिका सदस्य डा. मिनेन्द्र रिजालले नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमलाई डुबाएको र इन्जिन मर्मत सम्बन्धि सो टेन्डर प्रक्रिया पनि रद्द गराउने काम उनकै निर्देशनमा भएको भन्दै आक्रोश व्यक्त गरे । समितिका अर्का सदस्य प्रेम आलेले निगमले अरबौं घोटाला हुने गरी इन्जिन मर्मतका लागि नयाँ टेण्डर प्रक्रिया सुरु गर्न लागेको भन्दै आपत्ति जनाए ।

उनले नेपाल वायु सेवा निगमका कामकार्वाही राष्ट्रिय लज्जाको विषय भएको उल्लेख गर्दैै त्यसमाथि समितिले कडा निगरानी राख्ने चेतावनी पनि दिए ।

प्रकाशित मिति: Mar 11, 2019

प्रतिक्रिया दिनुहोस्