हुवान गुइडोको ‘कू’ को प्रयास असफल, तर माडुरोले दिए सेनालाई धन्यवाद
भेनुजुएलाका राष्ट्रपति निकोलास माडुरोले सेनालाई आफूसँग वफादार रहेर अमेरिका र विपक्षी नेता हुवान गुइडोको ‘कू’ को प्रयासलाई असफल बनाएको भन्दै धन्यवाद दिएका छन् । एक र्यालीलाई सम्बोधन गर्दै माडुरोले भेनेजुएलामा भइरहेको विद्युत कटौतीमा विपक्षीले गरेको साइबर हमला जिम्मेवार रहेको पनि आरोप लगाए ।
सरकार समर्थक र विपक्षीहरुले विरोधका कार्यक्रम आयोजना गरिरहँदा मोडुरोले सो कुरा बताएका हुन् । राजधानी काराकासमा भने गुइडोका समर्थक र प्रहरीबीच झडप भएको थियो ।
गत जनवरी २३ मा गुइडोले आफूलाई देशको राष्ट्रपति घोषणा गरे पनि माडुरोले सेना, रसिया र चीनको समर्थन पाएका छन् । राष्ट्रपति भवन सामुन्ने आयोजित सभालाई सम्बोधन गर्दै माडुरोले गुइडोलाई ‘कठपुतली’को पनि संज्ञा दिए ।
‘उनीहरुले सेनालाई आह्वान गरेर सैनिक कू गर्न चाहन्थे तर उनीहरुको जवाफ स्पष्ट थियो -उनीहरुले ‘कू’का योजनाकारहरुलाई परास्त गरेका छन्,’ उनले भने । यता, विपक्षीहरुको र्यालीलाई सम्बोधन गर्दै गुइडोले आफू देशव्यापी दौडाहामा जाने र समर्थकहरुलाई काराकासमा हुने विरोध र्यालीमा आउन आह्वान गर्ने बताए ।