Logo
१ असार २०८२, आईतबार
(March 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको स्वतः नियुक्ति !

काठमाडौँ : संवैधानिक परिषदबाट प्रस्तावित मुस्लिम आयोगको अध्यक्षमा समिम मिया अन्सारीको स्वतः नियुक्ति हुने भएको छ । सत्ता साझेदार संघीय समाजवादी फोरम नेपाल र नेकपाबीचचको असन्तुष्टिका कारण ४५ दिनको अवधि काटेर अन्सारीको स्वतः नियुक्तिको बाटो खुलेको हो । नेकपाभित्र अध्यक्ष ओली पक्ष अन्सारीलाई मुस्लिम आयोगको अध्यक्ष बनाउने पक्षमा छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष उनलाई रोक्नुपर्ने पक्षमा थिए ।

अन्सारीबारे नेकपाभित्र विवाद र फोरमको संवैधानिक आयोगमा सिफारिसप्रति अन्तुष्टिका कारण सुनुवाई समिति अकर्मण्ड्य हुँदा अन्सारीले स्वत: नियुक्तिको अवसर पाएका हुन् । संवैधानिक परिषदको पत्र सुनुवाई समितिमा पुगेको ४५ दिनभित्र समितिले कुनै निर्णय नगरेमा सिफारिस भएको पदमा स्वतः नियुक्त हुने व्यवस्था संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को दफा २६ (२) ले गरेको छ ।

अन्सारीको नाम प्रस्ताव गरेर परिषदले सुनुवाई समितिलाई पत्र पठाएको शनिबार ४५ दिन पुगेको छ । संसदीय सुनुवाई समितिको नियमावलीअनुसार समितिबाट कुनै पनि सदस्यलाई अस्वीकृत गर्न दुई तिहाई बहुमत र स्वीकृत गर्न साधारण बहुमत चाहिन्छ । १५ सदस्यीय सुनुवाई समितिमा अस्वीकृत गर्न दश जना सांसदको समर्थन चाहिने भए पनि नेकपासँग नौजना मात्र सांसद हुँदा गएको मंगलबार अन्सारीलाई अस्वीकृत गर्ने निर्णय भएको थिएन।

फोरमबाट समितिमा रहेका सांसद राजेन्द्र श्रेष्ठले संवैधानिक आयोगमा पदाधिकारी सिफारिस र प्रधानमन्त्रीले आफ्नो मन्त्रालयमा हस्तक्षेप गरेको भन्दै पार्टीको निर्देशनअनुसार समिति बैठकमा अनुपस्थित छन् । अन्सारीलाई गएको मंगलबार समितिले सुनुवाई गरे पनि नागरिकताबारे थप छानबिन गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई उनका बुवाआमाको नागरिकतासहित विवरणसमेत पठाउन निर्देशन दिएको थियो ।

यसअघि नै जिल्ला प्रशासन, निर्वाचन आयोग र संवैधानिक परिषदबाट कागजात मगाएर अध्ययन गरेको समितिले निर्णय दिन नसक्ने भएपछि अलमल्याउन थप छानबिन गर्ने निर्णय भएको थियो । अन्सारीको नागरिकता तथा शैक्षिक प्रमाणपत्र शंकास्पद, सिफारिस हुँदा नेकपाको केन्द्रीय सदस्य तथा बन्द सूचिमा नाम रहेको उजुरी परेपछि सुनुवाई समितिले सम्बन्धित निकायबाट कागजता मगाएर अध्ययन गरेको थियो ।

अन्सारीले पहिलोपटक नागरिकता लिँदा जन्ममिति २०३० साल असोज २४ गते उल्लेख गरेका छन् र उनले सन् २००४ भारतको बोधगयामा रहेको मगध विश्वविद्यालयबाट स्नातक गरेको शैक्षिक प्रमाणपत्र पेश गरेका छन् । संवैधानिक परिषदले माघ ६ गते मुस्लिम आयोगको अध्यक्षमा अन्सारीको नाम सिफारिस गर्दा उनीसँग सम्बन्धित कागजपत्र हेर्दै नहेरी निर्णय गरेको तथ्य खुलेको छ ।

प्रकाशित मिति: Mar 10, 2019

प्रतिक्रिया दिनुहोस्