Logo
१८ बैशाख २०८१, मंगलबार
(March 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हामीले बुद्ध र गान्धीका आवाजलाई मानेका छौँ : सिके राउत (पुरै भिडियो सहित)

काठमाडौँ : स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. चन्द्रकान्त राउत (सीके) ले नेपाललाई स्थिरतामा लैजान मुलधारको राजनीतिमा प्रवेश गरेको बताएका छन् । राष्ट्रिय सभागृहमा सरकारसँग भएको ११ बुँदे सहमतिपछि संयोजक राउतले लामो संघर्षलाई आफूहरुले सुरक्षितरुपमा अवतरण गरेको बताए ।

‘नेपालमा विगतमा रहेका जटिल समस्या थिए, नेपाललाई स्थिरतामा लैजानका लागि हामीले यो कदम चालेका छौँ’, उनले भने, ‘आन्दोलन विस्फोट हुने डर थियो तर प्रधानमन्त्रीले गर्नुभएको पहलले हामी यो अवस्थामा आइपुगेका छौँ ।’

राउतले भाषणका क्रममा भगवान गौतम बुद्धको नाम लिए । ‘हामी बुद्धका सन्तान, अहिंसा हाम्रो रग रगमा बसेको छ । अहिंसा हाम्रो शरीर भित्र नै अन्तरनिहीत भएर बसेको छ’, उनले भने, ‘हामीले यो आन्दोनका क्रममा पनि बुद्ध र गान्धीका आवाजलाई मानेका छौँ ।’

राउतले आन्दोलनका क्रममा आफ्ना सयकडौँ कार्यकर्ताहरु जेलमा रहेका स्मरण गराए । ‘हाम्रा जिल्ला संयोजकको जेलमै ज्यान गयो । म आफैँ पनि महिनौँ जेलमा पनि बसेको छु, । मोरङमा प्रहरी दमनमा परेर खुट्टा पनि भाँचियो’, उनले भने, ‘अधिकार सबै जनतालाई चाहिन्छ, त्यसका लागि हामी अब राजनीतिक मोर्चाबाट अघि बढ्छौँ ।

आफूहरुको आन्दोलनका क्रममा समुदाय-समुदायलाई लडाउने खेल भएको पनि उनले खुलाए । ‘अरुलाई कुट्न सजिलो छ ढुंगा फाल्न सजिलो छ तर आफैँले कुटाई खाएर बस्न चाहिँ गाह्रो छ’, उनले भने, ‘हाम्रो आन्दोलनका क्रममा समुदायलाई लडाएर फाइदा लिन पनि खोजियो । हामीमाथि दमन हुँदा पनि हामीले हातमा हात बाँधेर बस्यौँ, दमनलाई सहेर यहाँ आएका छौँ ।’

राउतले आफ्ना मागहरु जनमत संग्रहबाट सम्बोधन गर्ने बाचा सरकारले गरेको सुनाए । उनले सरकारसँग भएको सहमति नम्बर २ मा यस्तो उल्लेख भएको बताए ।

राउतले अब हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्ने अवस्था नरहेको बताए । ‘अब जनतम प्रयोग गरेर अघि बढ्नुपर्छ, हिंसात्मक आन्दोलन गरेर समय बर्बाद गर्नुहुँदैन’, उनले भने, ‘जे जस्तो शासन ल्याउनुछ, जनताले अधिकार प्रयोग गरेर ल्याउनुपर्छ, देशको विकास र समृद्धि हाँसिल गर्ने बेला आएको छ ।’

हेर्नुस् पुरै भिडियो : 

प्रकाशित मिति: Mar 8, 2019

प्रतिक्रिया दिनुहोस्