Logo
३ श्रावण २०८१, बिहीबार
(March 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनाव चिन्हको कारण अड्कियो राप्रपा नेपाल-राप्रपा संयुक्तको एकता

विराटनगर : पशुपति शमरेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राप्रपा संयुक्त र कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालको एकता चुनाव चिन्ह हलोको कारण अड्किएको नेताहरूले बताएका छन्।

राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर जंगबहादुर राणा र डाक्टर प्रकाशचन्द्र लोहनीले मंगलबार विराटनगरमा संयुक्त पत्रकार सम्मेलन गरी यस्तो बताए । ‘कमल थापासँग सैद्धान्तिक हिसावले नमिल्ने कुरा केही छैन’, अध्यक्ष जबराले भने, ‘हामीले चुनाव चिन्ह हलो छाड्न सकिँदैन भनेको कारण एकता हुन नसकेको हो ।’ राप्रपा नेपालको चुनाव चिन्ह गाइको बाछी रहेको छ । थापा नेतृत्वको राप्रपाले चुनाव चिन्ह गाई नै राख्नुपर्ने अडान लिएको जबराको दाबी छ । सोही कारण एकता हुन नसकेको उनले बताए।

जबराले आफूहरूले दुई चरणको एकता प्रक्रिया अगाडि सारेको बताए। पहिलो चरणमा राष्ट्रवादी र प्रजातान्त्रिक मिलाएर संयुक्त बनाएको र अब राप्रपा तथा आफूहरूसँग मिल्न चाहने अन्य पार्टी तथा नेतासँग एकता गरिने बताए । यसका साथै दुवै अध्यक्षले आफूहरूले राखेको धार्मिक स्वतन्त्रतासहित बहुधर्म सापेक्ष हिन्दुराष्ट्र र सबैको साझा सहमतिको आधारमा संवैधानिक राजसंस्था, समावेशी राष्ट्रवाद र उदारवादी मान्यतालाई स्वीकार गर्ने सबैसँग एकता र गठबन्धन गरिने बताएका छन् ।

जबराले वर्तमान प्रजातान्त्रिक संविधानको संरक्षण गर्दै सोही संविधानले दिएको अधिकार प्रयोग गरेर आफूहरू संगठन सुदृढीकरणमा लाग्ने र अन्तिममा आन्दोलन छेड्ने उद्देश्य रहेको पनि बताए । अर्का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको, प्रतिपक्षी कांग्रेस लुते भएको र सुशासनको नाममा कुशासन सुरु भएको आरोप लगाए । संघीय शासन पद्धति आफूहरूले स्वीकार गरेको भए पनि अहिलेको कार्यान्वयन पक्षमा भने आफूहरू असहमत रहेको उनको भनाइ थियो।

प्रकाशित मिति: Mar 5, 2019

प्रतिक्रिया दिनुहोस्