सुन तस्करीमा पक्राउ परेका वडाध्यक्षसहित ५ जना जेल चलान
जनकपुर : सिरहामा सुनसहित पक्राउ परेका वडाअध्यक्ष सहित आधा दर्जन व्यक्ति जेल चलान भएका छन् । १ किलो ७ सय ५७ ग्राम सुनसहित पक्राउ परेका लहान नगरपालिका वडा नं. १९ का वडाध्यक्ष हाकिम मियाँसहित ६ जना जेल चलान भएका हुन् ।
राजस्व चुहावट र विदेशी विनिमय अपचलनको मुद्दामा जिल्ला अदालत सिरहाको आदेशमा उनीहरुलाई सिरहा कारागार चलान गरिएको हो । श्रेस्तेदार नरेन्द्र श्रेष्ठका अनुसार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले वडाध्यक्ष मियाँ र उनीसंगै पक्राउ परेका मोहम्मद रहमान, मोहम्मद अफरोज, मोहम्मद अमिरुल, मोहम्मद कैयुम र मोहम्मद रियाजलाई पुर्पक्षका लागि सिरहा कारागार पठाएको हो ।
गत पुस २४ गते सशस्त्र प्रहरीको टोलीले पूर्व-पश्चिम राजमार्गको गोलबजार नगरपालिका वडा नम्बर ९ घुर्मी पुलबाट एक किलो सात सय ५७ ग्राम अवैध सुनसहित वडाध्यक्ष हकिम मियाँसहित ६ जनालाई पक्राउ गरेको थियो । कतारबाट लुकाईछिपाई ल्याइएको सुन लिएर बीआर ३२ पिए ४६४४ नम्बरको स्कार्पियो जिप लहानतर्फ आउँदै गरेको सूचना प्राप्त भएपछि घुर्मी खोलामा आइपुग्दा सशस्त्र प्रहरीको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।