Logo
३ जेष्ठ २०८१, बिहीबार
(March 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दैलेख र पाल्पाको पेट्रोलियम खानी अन्वेषण गर्न नेपाल र चीनबीच सम्झौता

काठमाडौं :  नेपाल र चीनबीच दैलेख र पाल्पाका पेट्रोलियम खानी कार्यान्वयन गर्नेसम्बन्धी सम्झौता भएको छ।

चाइना जिओलोजिकल सर्भे कम्पनीसँग बिहीबार नेपालले पेट्रोलियम अन्वेषणसम्बन्धी सम्झौता गरेको हो। त्यस्तै उक्त टोलीले सुर्खेतको सम्भावित पेट्रोलियम पदार्थको अध्ययन समेत गर्ने सहमति भएको छ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद सापकोटाको नेतृत्वमा नेपाली टोली चीन प्रस्थान गरेको थियो। चीन गएको नेपाली प्रतिनिधिमण्डलले पेट्रोलियम खानी अन्वेषण कार्यान्वयनसम्बन्धी सम्झौता गरेको विभागका सिनियर मेकानिकल इन्जिनियर दिलिप झाले जानकारी दिए।

उनका अनुसार नेपाली टोली आजै फर्किने कार्यक्रम रहेको छ। समझौताअनुसार दैलेखमा र पाल्पामा रहेको पेट्रोलियम खानीको विस्तृत अन्वेषण र ड्रिलिङको काम समेत हुनेछ। उक्त अन्वेषणले अधिक मात्रामा पेट्रोलियम पदार्थ रहेको नरहेको तथा त्यसको गुणस्तरको परीक्षण समेत गर्नेछ।

यसअघि चाइना जिओलोजिकल सर्भेको टोलीले दैलेख, बुटवल पाल्पा र चतरा वराह क्षेत्रमा रहेका पेट्रोलियम खानीको सम्भाव्यता अध्ययन गरेको थियो।

प्रकाशित मिति: Mar 1, 2019

प्रतिक्रिया दिनुहोस्