Logo
३ जेष्ठ २०८१, बिहीबार
(February 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तान सुपर लिग PSL मा सन्दीपको हालसम्मकै उत्कृष्ट प्रदर्शन

काठमाडौं : नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) मा गरेको प्रदर्शन उनको टी-ट्‍वान्टी क्रिकेट करियरमा हालसम्मकै उत्कृष्ट प्रदर्शन बनेको छ। विश्वकै उत्कृष्ट क्रिकेटरहरु सहभागी भएको कुनै पनि टी–ट्वीन्टी क्रिकेट प्रतियोगितामा २.५ को इकोनोमीमा बलिङ गरी, ४ विकेट लिनुसक्नु निकै दुर्लभ प्रदर्शन हो ।

बुधबार पीएसएलमा आफ्नो तेस्रो खेल खेलेका सन्दीपले आफ्नो लेगस्पीनको जादु देखाउँदै ४ ओभर बलिङ गर्दा जम्मा १० रन खर्चेर ४ विकेट लिन सफल भए । पाकिस्तानी सुपर लिगमा सन्दीप लाहोर क्वालान्डर्सबाट खेलिरहेका छन् । बुधबार उनको टोलीले लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको क्वेटा ग्लाडियटर्ससँग प्रतिस्पर्धा गरेको थियो ।

क्वेटाका लागि पाकिस्तानी युवा क्रिकेटर असन अली र विस्फोटक ब्याटिङ गर्ने अस्टे्रलियन अलराउन्डर शेन वाट्सको ओपनिङ जोडी क्रिजमा थिए । असन अलीले तेस्रो ओभरमा २० रन प्रहार गरी लाहोरका बलरलाई डोमिनेट गर्न शुरु गरिसकेका थिए । ३ ओभरमा ३१ रन बनेको थियो ।

यस्तो दबाबपूर्ण अवस्थामा चौथो ओभर बलिङ गर्न आएका सन्दीपले ओभरको चौथो बलमा वाट्सनलाई एलबिडब्लु धरापमा पारी पेभिलियन पठाइदिए । यस ओभरमा जम्मा ३ रन दिए । त्यसपछि छैटौं ओभरको पहिलो बलमै दक्षिण अफ्रिकी खेलाडी रोस्सोलाई क्याच आउट गराएका उनले यसै ओभरको अन्तिम बलमा उमर अकमललाई बोल्ड गरी तेस्रो विकेट लिन सफल भए ।

सातौँ ओभरको तेस्रो बलमा डेनिस अजिजलाई क्याच आउट गराई व्यक्तिगत चौथो विकेट लिएका थिए । सन्दीपले एकपछि अर्को गर्दै ४ विकेट लिएपछि उत्कृष्ट सुरुवात गरेको क्वेटाका कुनै व्याट्म्यानले खेललाई फर्काउन सकेनन् । क्वेटा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो । लाहोरले यो खेल ८ विकेटले जित्यो । सन्दीप यस खेलका ‘प्लेयर अफ दी म्याच’ भए ।

सन्दीप टोलीले खेलेका ६ खेलमध्ये पछिल्ला तीन खेलमा सहभागी भए । ३ खेल खेल्दा उनले ८ विकटे लिइसकेका छन् । उनले यस प्रतियोगितामा धेरै विकेट लिनेको सूचीमा पाचौं स्थानमा आफूलाई उभ्याइसकेका छन् । एक इनिङमा उत्कृष्ट बलिङ गर्ने बलरको सूचीमा भने सन्दीप पहिलो नम्बरमा छन् ।

यसको मतलब सन्दीपले बुधबार गरेको बलिङ नै पीएसएल यस सिजनको अहिलेसम्मको सबैभन्दा राम्रो बलिङ हो। बलिङतर्फ समग्रमा उत्कृष्ट प्रदर्शन गर्नेको सूचीमा पाकिस्तानका हसन अली पहिलो र सन्दीप दोस्रो स्थानमा छन् । पीएसएलको डेब्यु खेलमा सन्दीपले ३ विकेट लिए तर त्यो खेलमा गरेको बलिङ उनको करियरकै महंगो बलिङ बनेको थियो ।

उनले ४ ओभरमा ४६ रन दिएका थिए। दोस्रो खेलमा ४ ओभरमा १ विकेट लिएर २० रन मात्रै दिँदै बलिङ इकोनोमी सुधार गरेका उनले तेस्रो खेलमा टी-वीन्टी करियरकै उत्कृष्ट बलिङ गर्न सफल भए । गतसालको इन्डियन प्रिमियर लिग (आईपीएल) मा मौका पाएपछि सबैजसो विदेशी लिगमा सन्दीपले खेल्ने अवसर पाएका छन् ।

आईपीएलपछि उनले टी–ट्वीन्टी फर्म्याटका लिगमा क्यानडा प्रिमियर लिग, क्याराबिन प्रिमियर लिग, बिग बास लिग, अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग खेलिसकेका छन् र हाल खेलिरहेको पाकिस्तान सुपर लिगसहित १ वर्षभित्र ७ विदेशी लिगमा खेल्ने अवसर प्राप्त गरे । त्यसबाहेक उनले गत नोभेम्बर यूएईमा भएको सबैभन्दा छोटो फर्म्याटको क्रिकेट टी–१० लिग पनि खेले ।

प्रकाशित मिति: Feb 28, 2019

प्रतिक्रिया दिनुहोस्