Logo
१२ श्रावण २०८१, शनिबार
(February 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुनः सार्वजनिक यातायातको भाडा बढाउने तयारी, ट्याक्सीमा ३ किलोमिटरसम्मको ५० रुपैयाँ

काठमाडौं : व्यवसायीको आग्रहमा सरकारले सार्वजनिक सवारीसाधनको भाडादर बढाउने तयारी गरेको छ । असोजमा १० प्रतिशत भाडा वृद्धि गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैज्ञानिक भाडादर कायम गर्ने भन्दै पुनः भाडा वृद्धि गर्न लागेको हो । यातायात व्यवसायीहरूले गत असोजमा दसैंका लागि अग्रिम टिकट बुकिङ रोकेपछि सरकारले बाध्य भएर असोजमा भाडा वृद्धि गर्ने निर्णय गरेको थियो ।

त्यतिबेला सरकार र यातायात व्यवसायीबीच चारबुँदे सम्झौता भएपछि व्यवसायी अग्रिम बुकिङ खोल्न तयार भएका थिए । सरकार र व्यवसायीबीच भएको सो सम्झौतामा वैज्ञानिक तवरले नयाँ भाडादर कायम गर्न समिति बनाउने र त्यसले दिएको प्रतिवेदनका आधारमा गत मंसिरमा नै भाडादर समायोजन हुने उल्लेख गरिएको थियो ।

सोही आधारमा अहिले मन्त्रालयले नयाँ भाडादर समायोजन गर्न लागेको हो । यसअघि दसैं, तिहार, छठलगायत विभिन्न चाडपर्वको मुखमा धेरै भाडादर बढाउँदा सरकारको आलोचना हुने र गलत सन्देश जाने भन्दै पेट्रोलियम पदार्थलाई मात्रै आधार मानेर भाडादर वृद्धि गर्ने निर्णय भएको थियो । पछिल्लो समय २०७२ सालमा पेट्रोलियम पदार्थको आधारमा भाडादर समायोजन गरिएको थियो ।

त्यतिबेला पेट्रोलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ र डिजेलको मूल्य ७५ रुपैयाँ प्रतिलिटर रहेको थियो । सोही आधारमा १० प्रतिशत भाडादर बढाइएको हो । अब इन्धनलगायत यातायात सञ्चालनका लागि आवश्यक अहिलेको न्यूनतम लागत मूल्यलाई पनि हेरेर नयाँ भाडादर कायम हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायका अनुसार भाडादर निर्धारण गर्दा पेट्रोलियम पदार्थलाई ३५ प्रतिशत र बाँकी राजस्व वृद्धि, मजदुर ज्याला, पाटपुर्जा, महँगीलगायतका १८ वटा सूचीका आधारमा ६५ प्रतिशत मूल्य समायोजन गरिन्छ । २०६९ सालदेखि नै ६५ प्रतिशत सूचीका आधारमा भाडादर समायोजन नभएको भन्दै समायोजन गर्न लागिएको हो ।

६५ प्रतिशतमा पर्ने सबै सूचीको मुल्यवृद्धि भए पनि भाडादर नबढेको भन्दै यातायात व्यवसायीहरूले सरकारलाई दबाब दिँदै आएका छन् । यसअघि गत असोजमा इन्धनको मूल्यअनुसार सरकारले सार्वजनिक सवारीसाधनका लागि नयाँ भाडादर कायम गरेको थियो । विभागका निर्देशक उपाध्यायले अब भने सर्वपक्षीय बैठक बसेर जतिसक्दो छिटो वैज्ञानिक भाडादर कायम गर्ने तयारी भएको जानकारी दिए । उनले विभागको प्रतिवेदन, मूल्यवृद्धि र सर्वपक्षीय छलफलका आधारमा भाडादर कायम हुने बताए ।

यसैगरी, अब सरकारले ट्याक्सीको पनि नयाँ भाडादर तोक्ने भएको छ । अहिले ट्याक्सीको भाडादर तोक्न गृहकार्य भइरहेको पनि उनले जानकारी दिए । उपाध्यायका अनुसार अब ट्याक्सी चढ्नेबित्तिकै कति तोक्ने भन्ने निर्णयसमेत गर्न लागिएको छ । ३ किलोमिटरसम्म ५० रुपैयाँ तोक्दा उपयुक्त हुने निष्कर्ष विभागको छ । तर, यसको टुंगो भने छलफलपछि मात्रै लाग्ने भन्दै उनले कति किलोमिटरसम्मको कति भाडादर निर्धारण गर्नेसमेत विभागले अध्ययन गरिरहेको जानकारी दिए ।

लामो समय सरकारले भाडा समायोजन नगरिदिएको भन्दै आन्दोलनरत ट्याक्सी व्यवसायीहरूले अहिले निकै भद्रता अपनाएर आआफ्ना ट्याक्सीमा अहिलेको महँगीअनुसार भाडा समायोजन नभएर व्यवसायीलाई परेको मर्काबारे लेखिएको जानकारीमूलक पर्चा टाँसेर सरकार एवं सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराइरहेका छन् । ट्याक्सी व्यवसायीको यस्तो कार्यशैलीबाट अब ग्याँस बिक्रेतालगायत अन्य सरोकारवालाले पनि उपभोक्तालाई प्रत्यक्ष मर्का नहुने गरी यस्तै आन्दोलनको शैली अपनाउन नयाँ पाठ नै सिकाएका छन् ।

प्रकाशित मिति: Feb 26, 2019

प्रतिक्रिया दिनुहोस्