Logo
६ जेष्ठ २०८१, आईतबार
(February 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हात्तीपाइले संक्रमितको सङ्ख्या बढ्दै, ९औँ पटक औषधि खुवाउने तयारी

लमही :  तुलसीपुरमा हात्तीपाइलेबाट संक्रमितको सङ्ख्या अत्यधिक रहेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत सोमबार तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गोकर्ण दाहालले सर्वेक्षणका क्रममा तुलसीपुरमा १२ प्रतिशत व्यक्तिमा हात्तीपाइलेको संक्रमण देखिएको बताए ।

तुलसीपुरमा १ लाख ६४ हजार २१८ जनसङ्ख्यामध्ये करीब २० हजारमा हात्तीपाइलेको संक्रमण देखिएको उनको भनाइ छ । यही फागुन १५ गतेदेखि १८ गतेसम्म दाङका १० वटै स्थानीय तहमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने कार्यक्रम छ । सोहीअनुसार तुलसीपुर उपमहानगरपालिकामा पनि तयारी पूरा भएको छ । यसअघि हात्तीपाइलेविरुद्धको औषधि खुवाए पनि रोगीको सङ्ख्या न्यूनीकरण हुननसकेको भन्दै ९औँ पटक दाङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउन लागिएको हो ।

२ वर्षभन्दा कम उमेरका बालबालिका, गर्भवती, ७ दिनसम्मका सुत्केरी, सिकिस्त बिरामी, छारेरोगका बिरामीबाहेक अन्य सबैलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइनेछ । सबैले हात्तीपाइलेविरुद्धको औषधि सेवन नगर्दा दाङमा हात्तीपाइलेका बिरामी घट्न नसकेको दाहालको भनाइ छ । “८ पटकसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइयो”, उनले भने, “हात्तीपाइले रोग न्यूनीकरण हुन नसकेपछि ९औँ पटक औषधि खुवाउने तयारी भइरहेको छ ।”

त्यस्तै, हात्तीपाइलेविरुद्धको औषधि खुवाउन तुलसीपुर उपनगरपालिकामा ९५ स्वास्थ्यकर्मी खटाइएको छ । स्वास्थ्य शाखा प्रमुख दाहालका अनुसार प्रत्येक वडामा ५/५ स्वास्थ्यकर्मी खटाइएको छ । सो कार्यका लागि रु ११ लाख २७ हजार बजेटको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: Feb 26, 2019

प्रतिक्रिया दिनुहोस्