Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोजपुर : बाँदर नियनत्रण गर्न अपनाए नयाँ तरिका, गाउँपालिकाले गरे १ लाख सहयोग

भोजपुर : बाँदरले अन्नबाली खाएर किसानलाई दुःख दिएपछि भोजपुरमा बाँदर नियनत्रणमा लिन नयाँ तरिका अपनाइएको छ । बाँदर नियनत्रणका लागि टेम्केमैयुङ गाउँपालिकामा बाँसको खोर बनाउन थालिएको हो ।

गाउँपालिकाकै सहयोगमा गाउँलेहरु मिलेर बाँसको भाटा र चोयाको खोर बनाएर बाँदर थुन्न थालेका छन् । यो प्रविधि कम खर्चिलो भएको गाउँले बताउँछन् ।
अहिले प्रयोगमा ल्याइएको पासोमा वरिपरिबाट बाँसको भाटाको बारा लगाएर माथिबाट बाँसकै छानो लगाइन्छ ।

बाँदरलाई त्यहाँभित्र पसाउनको लागि माथिबाट छेकिएको छानाको मध्य भागतिरबाट ढडिया बनाइ छिर्ने ठाउँ राखिन्छ । मकै तथा अन्य खानेकुराहरु खोरभित्र राखिन्छ । खानेकुराको लागि भित्र पसेको बाँदर बाहिर निस्किन सक्दैन ।

टेम्केमैयुङ-६ कोटका वडाअध्यक्ष सूर्यप्रसाद नेपाल सबै छिमेकीहरु मिलेर त्यस्ता खोरहरु बनाउन अभियान नै चलाएको बताउँछन् । ‘जनताको जीविकासँग प्रत्यक्षसँग गाँसिएका यस्ता विषयमा हामीले ध्यान दिएनौ भने भोलि गाउँ नै रित्तिने संभावना छ,’ अध्यक्ष नेपालले भने ।

खोरमा १० देखि १५ वटासम्म बाँदरहरु एकैपटक आएर पर्ने गरेको स्थानीयवासि केदार नेपालले बताए । पहिल्यैदेखि किसानलाई बाँदरले दुःख दिएको गुनासो आइरहे पनि अहिले मात्रै टेम्केमैयुङ गाउँपालिका बाँदर नियन्त्रणका लागि योजनावद्ध ढंगले अगाडि बढेको हो ।

कोटमा ४० देखि ५० वटसम्म खोर बनाउने र यसलाई अन्यत्र पनि विस्तार गर्दै लैजाने गाउँपालिका प्रमुख ध्रुवराज राईले बताए । उनका अनुसार बाँदरलाई पासोमा पार्न यो विधि प्रभावकारी देखिएकाले यसलाई अन्य वडामा पनि विस्तारका लागि गाउँपालिकाले पहल गर्नेछ । यस आर्थिक वर्षमा गाउँपालिकाले बाँदर नियन्त्रणका लागि १ लाख बजेट विनियोजन गरेको छ ।

 

प्रकाशित मिति: Feb 21, 2019

प्रतिक्रिया दिनुहोस्