Logo
१२ श्रावण २०८१, शनिबार
(February 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युवा युवतीले पाउनै छाडे विवाह गर्ने जोडी : हायु जातिको अस्तित्व नै संकटमा

गाईघाट : नेपालमा नै अल्पसङ्ख्यक अवस्थामा रहेका हायु जातिमध्ये उदयपुरमा बसोबास गर्दै आएका अल्पसङ्ख्यक हायु जातिका उमेर पुगेका युवक तथा युवतीमा अहिले जिल्लाभित्र विवाह गर्ने जोडी नपाएपछि आफ्ना परम्परागत जातिगत विवाहमा समस्या देखिन थालेको छ ।

कटारी नगरपालिका-१० सिरवानीमा बसोबास गर्ने पाँचघर हायु र त्रियुगा नगरपालिका-१६ सुकौरामा बसोबास गर्ने दुई घरमात्र हायु रहेको उदयपुरमा अहिले हुर्केका छोरा तथा छोरीमा परम्परागत जातीय विवाह गर्न समस्या आउन थालेको स्वयं हायुका बूढापाका बताउँछन् ।

कटारी सिरवानीका ७० वर्षीय पञ्चमान हायुले भने, ‘आफूहरूको पुख्र्यौली थलो रामेछाप हुँदै पुर्खा उदयपुर आइपुगे, पहिला–पहिला त दुईथरीका हायु भएको कारण विवाह चलाइयो, अब भने एकअर्कामा मामा, भान्जाभान्जी पर्न थालेपछि युवायुवतीको विवाहमा समस्या आउन थाल्यो ।’ सिरवानीकै अर्का तेजबहादुर हायुका अनुसार उदयपुरमा अहिले दुईथरीका बालुङ्लोचा र कमालोचा जातिका हायु बसोबास गर्दै आएका छन् ।

जम्मा सातघर हायु परिवार रहेकोमा पहिला–पहिला यी दुई हायुबीच विवाहवारी चले पनि अहिले भने दुवैको छोराछोरी नाता कुटुम्बका कारण भन्जाभान्जी, मावली दाजुभाइ, दिदीबहिनी प्रत्यक्ष साइनो परेका कारण विवाह नचल्ने भएपछि जिल्लाभित्र विवाह गर्न समस्या हुन थालेको कटारी सिरवानीका तेजबहादुर बताउछन् । ।

सुकौराका बद्री हायुका अनुसार आफूहरू पहिला मकवानपुरदेखि उदयपुर आए पनि उदयपुरको बालुङलोचा हायुसँग ससुराली सम्बन्ध भएपछि छोराछोरीको मावली परेका कारण उनीहरूको छोराछोरीसँग आफूहरूको छोराछोरीको विवाह नचल्ने बताउछन् । अल्पसङ्ख्यकरूपमा बसोबास गर्दै आएका उदयपुरका केही हायुका छोराछोरीले अहिले जिल्लाभित्र आफ्नो जातिसँग विवाह गर्न नभएपछि अन्तरजातीय विवाह गर्न थालेकाले जिल्लाबाट नै भविष्यमा आफूहरूको जातिको अस्तित्व नै हराउने त हैन भन्ने चिन्ताले सताउने गरेको बद्री हायु बताए ।

हुर्केका छोराछोरीले जिल्लाभित्र विवाह गर्ने जोडीसमेत पाउन छाडेपछि छोराछोरीको विवाह गर्न जोडी खोज्न ओखलढुङ्गा, सिन्धुली, काभ्रे वा मकवानपुरसम्म पुग्नुपर्ने बाध्यता रहेकोसमेत हायु बताउँछन् ।

प्रकाशित मिति: Feb 12, 2019

प्रतिक्रिया दिनुहोस्