Logo
१८ बैशाख २०८१, मंगलबार
(February 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न इजाजत, नियम-संगत, एलेन कलेजको पर्दाफास : संचालक शर्मा पक्राउ, अध्यक्ष मेहता अस्वस्थ

इनरुवा : गैर कानुनी रुपमा प्राविधिक शिक्षा कार्यक्रम संचालन गरेको अभियोगमा पक्राउ परेका एलेन कलेज अफ ईन्जिनियरिङ प्रालिका अध्यक्ष अस्वस्थ भएपछि प्रहरीले उनलाई उपचार गर्न समय दिएको छ। संचालक बिनोद शर्मालाई म्याद थप गरी नियन्यत्रणमा राखेको सुनसरी प्रहरीले अध्यक्ष मेहताका सवालमा भने स्वास्थ्यमा खराबीका कारण निगरानीमा रहनेगरी परिवारलाई जिम्मा लगाइएको जनाएको छ ।

सुनसरीका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार उपचारको क्रममा रहेको र मुटु सम्वन्धी समस्या पाइएकाले मेहतालाई प्रहरी निगरानीमा रहने गरी परिवारको जिम्मा लगाइएको हो । उपचारसँगै स्वास्थ्यमा सुधार भएपछि मेहतालाई जिल्ला प्रहरी कार्यालयमा झिकाई नियन्त्रणमा लिएर कानुनी कार्वाही अघि बढाइने फुयालले जनाएका छन्।

प्रहरीले संचालक शर्मा उपर भने ठगि मुद्दामा मंगलवारनै जिल्ला अदालत सुनसरीबाट ६ दिने म्याद थप गरि अनुसन्धानकालागि नियन्त्रणमा राखेको छ। ठगि मुद्दामा संचालक र अध्यक्ष दुवै उपर प्रहरीले कार्वाहीको प्रकृया अघि बढाउँदै गर्दा शर्मा नियन्त्रणमा रहनु र मेहता भने स्वास्थ्यमा खराबीका कारण बाहिरै रहेको भन्दै स्थानीय तहमा बेल्लाबेल्गै बहसको अवस्था सीर्जना हुन पुगेको छ ।

प्रहरीले भने स्वास्थ्यमा खराबी देखिएकै कारण मेहतालाई पक्राउ गरि नियन्त्रणमा नराखिएको जनाउँदै स्वास्थ्यमा सुधार हुने बित्तिकै नियन्त्रणमा लिइने स्पष्ट पारेको छ । यसैबिच प्रहरीमा परेको अभिभावक र विद्यार्थीको उजुरीका आधारमा सुनसरी प्रहरीले एलेन कलेज उपर स्थलगत अनुसन्धान थालेको छ ।

जिप्रकाबाट परिचालित प्रहरी निरीक्षक नेतृत्वको टोलीले कलेजमा पुगी कागजात संकलनसँगै अनुसन्धानको प्रकृयालाई अघि बढाएको छ । कलेजले सीटीईभिटीबाट सम्वन्धन नलिई विद्यार्थी भर्ना गरी मनोमानी शुल्क लिएर आफुखुशी कम्प्युटर सिस्टम एडमिनिस्टर एण्ड डेभलपमेन्ट १३ सय २० घण्टाको कार्यक्रम संचालन गर्दै आएको पाइएको थियो ।

संचालक बिनोद शर्मा पक्राउ
अवैधानिक रुपमा कलेज संचालन गरेको उजुरीका आधारमा एलेन कलेज अफ ईन्जिनियरिङ प्रा.लि. इनरुवाका संचालक बिनोद शर्मा पक्राउ परेका छन् । अवैधानिक रुपमा संचालनमा रहेको कलेजले मनोमानी शुल्क लिदै आएको भन्दै अभिभावकले सीटीईभिटीमा उजुरी गरेका थिए ।

उजुरीका आधारमा सीटीईभिटी क्षेत्रीय कार्यालय इटहरीको छानविनका क्रममा कलेज स्विकृती बेगर संचालनमा रहेको खुल्न आएको थियो । सोही विषयलाई कारण देखाउँदै सीटीईभिटीले कलेज बन्द गरी ठगी मुद्दामा कार्वाहीकालागि जिल्ला प्रशासनमा गरेको पत्राचारका आधारमा आवश्यक कार्वाही अघि बढाउन दिइएको आदेश बमोजिम सुनसरी प्रहरीले संचालक शर्मालाई पक्राउ गरेको हो ।

हिजो पक्राउ परेका शर्मालाई म्याद थप गरिएको छ । जिल्ला प्रहरी कार्यालयले शर्मा उपर ठगी मुद्दामा कार्वाही अघि बढाइएको जनाएको छ । शर्मालाई सुनसरी जिल्ला अदालतले ठगी मुद्दामा ६ दिन म्याद थप गरेको छ । आफुहरुले संचालन गरेको कलेज वैधानिक रहेको दाबी गर्दै आएको एलेन कलेजका संचालक शर्मा पक्राउ परेपनि अध्यक्ष रहेका मनोजकुमार मेहताभने स्वास्थ्य समस्याका कारण उपचारको क्रममा रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले चेकजाँच पश्चात मेहतालाई समेत नियन्त्रणमा लिई कानुनी कार्वाहीको प्रकृया अघि बढाइने जनाएको छ । एलेन कलेज अफ ईन्जिनियरिङ प्रा.लि. इनरुवाले सीटीईभिटीबाट मान्यता प्राप्त नै नगरी कम्प्युटर सिस्टम एडमिनिस्टर एण्ड डेभलोप्मेन्ट १३२० घण्टाकोे कार्यक्रम संचालन गर्दै आएको पाइएको थियो ।

कलेजले प्राविधिक शिक्षाका नाममा आफुखुसी कार्यक्रम संचालन गर्दै आएको र विद्यार्थीबाट चर्को शुल्क असुलेको पाइएको भन्दै स्वयं सीटीईभिटीनै कलेज बन्द गराई आवश्यक कार्वाहीको प्रकृयामा अघि बढाएको थियो । सोही अनुरुप सुनसरी प्रशासनको आदेश पश्चात आवश्यक कार्वाही र अनुसन्धानको प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सो बमोजिम नगरी वा फकाई, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानी पूर्वक हानीनोक्सानी वा क्षति पु¥याएमा निजले ठगी गरेको मानिने व्यवस्था ऐनमा उल्लेख गरिएको छ । ठगी ऐन अनुसार यस्ता कसुर गर्ने व्यक्तिलाई सात वर्ष सम्म कैद र ७० हजार रुपैंया सम्म जरिवाना हुने व्यवस्था गरेको छ ।

सिटिईभिटीको परिपत्र
प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद सिटिईभिटीको पुर्व क्षेत्र क्षेत्रिय कार्यालय इटहरीले इनरुवामा अबैध रुपमा संचालित ऐलेन कलेज अफ ईञ्नियरिङ प्रा.ली. इनरुवाले संचालन गर्दै आएको कार्यक्रम तत्काल बन्द गर्न परिपत्र गरेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदबाट सम्बन्धन नलिई प्रशिक्षार्थीलाई बिभिन्न आश्वासन दिई कम्प्युटर सिस्टम एडमिनिस्ट्रेटर एण्ड डेभलपर १३२० घण्टा कार्यक्रम परिषदको नियम विपरित संचालन गरेको र विद्यार्थीबाट अस्वभाबिक तरिकाले शूल्क असुल गर्दै आएको भन्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदको पुर्व क्षेत्र क्षेत्रिय कार्यालय इटहरीले ऐलेन कलेज अफ ईन्जिनियरिंग प्रा.ली. इनरुवाले संचालन गरेको कार्यक्रमलाई बन्द गर्न परिपत्र गरेको हो ।

कारवाही गर्न प्रहरीलाई प्रशासनको आदेश
इनरुवामा संचालनमा रहेको एलेन कलेज अफ ईन्जिनियरिङ प्रा.लि. उपर आवश्यक कारवाहीको प्रकृया अघि बढाइएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभिटीको पुर्व क्षेत्र क्षेत्रीय कार्यालय इटहरीको पत्रलाई आधार मान्दै सुनसरी प्रशासनले कलेज उपर आवश्यक कार्वाहीको प्रकृया अघि बढाउन जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्राचार गरेको छ ।

सीटीईभिटी इटहरीका निर्देशक डा. शिव प्रसाद दाहालद्धारा हस्तारक्षरित अनुरोध पत्र जिल्ला प्रशासन कार्यालयमा दर्ता भएसँगै एलेन कलेज उपर कार्वाहीको प्रकृया अघि बढेको छ । क्षेत्रीय निर्देशक डा. दाहाल द्वारा हस्ताक्षरित अनुरोध पत्रमा इनरुवा १ मा रहेको एलेन कलेज अफ ईन्जिनियरिङ प्रा.लि. ले सी.टी.ई.भि.टी.को सम्वन्धन प्राप्त भनी विज्ञापन गरी विभिन्न किसिमका प्रलोभन देखाई बढी शुल्क लिई कम्प्युटर सिस्टम एडमिनेस्ट्रेसन एण्ड डेभलोप्मेन्ट १३२० घण्टाकोे कार्यक्रम गैर कानुनी रुपमा संचालन गरी रहेको पाइएकोले उक्त संस्थाको सो कार्यक्रम बन्द गराई पीडित प्रशिक्षार्थीलाई क्षतिपूर्ति दिलाउन आवश्यक कार्वाही अगाडी बढाउन अनुरोध सहितको व्यहोरा उल्लेख छ ।

सीटीईभिटीको सो पत्र प्रशासनमा दर्ता भएसँगै लगत्तै जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय सुनसरीका नाममा आवश्यक कार्वाहीकालागि पत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालयले सम्वन्धित व्यक्ति (एलेन कलेज अफ ईञ्नियरिङ प्रा.ली.) लाई झिकाई आवश्यक कार्वाही हुने गरीको प्रकृया अघि बढाउन तोक आदेश गरेको छ । गैरकानुनी रुपमा संचालनमा रहेको एलेन कलेज उपर कार्वाहीको प्रकृया अघि बढिसकेको सीटीईभिटीका क्षेत्रिय निर्देशक डा. शिव प्रसाद दाहालले बताए ।

दाहालले कानुनी रुपमा कार्वाहीको प्रकृया अघि बढ्ने बताए । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीले समेत अवैधानिक रुपमा संचालन रहेको कलेजले विद्यार्थीबाट चर्को शुल्क लिई आफुखुसी गर्दै आएको पाइएकाले आवश्यक कार्वाहीकालागि जिल्ला प्रहरी कार्यालयलाई आदेश दिइसकिएको बताए । एलेन कलेजले भने आफु वैधानिक रहेको बताउँदै आएको छ ।

इजाजत बेगरै चर्को शुल्क असुलेको भन्दै अख्तियारमा उजुरी
सुनसरी सदरमुकाम इनरुवामा संचालनमा रहेको एलेन कलेज अफ इन्जिनियरिङ प्रा.लि. सीटीईभिटीबाट समवन्धन नलिई आफुखुसी संचालन गरिएको पाइएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) पूर्व क्षेत्र क्षेत्रीय कार्यालय इटहरीले ऐलेन कलेज अफ इन्जिनियरिङ प्रा.लि. आफ्नो मातहत नरहेको स्पष्ट पार्दै गैर कानुनी रुपमा संंचालनमा रहेको उक्त कलेज उपर आवश्यक कार्वाहीको माग सहितको पत्र काटेपछि ऐलेनका सञ्चालकहरुले आफुखुसी गरेको रहस्य बाहिरिएको हो ।

सीटीईभिटीद्धारा कार्वाहीको माग सहित जिल्ला प्रशासन कार्यालय सुनसरीमा पठाइएको पत्रलाई प्रजिअले सम्वन्धित निकायसँग बुझी आवश्यक प्रकृया अघि बढाउनु भनि तोकआदेश गरेसँगै उक्त पत्र आजकै मितिमा प्रशासनको दर्ता किताबको १०२७ नम्वरमा दर्ता भएको छ । इनरुवा नगरपालिका १ स्थित शान्ती चौक पुर्व तर्फको दुहवी इनरुवा सडक खण्डमा संचालित ऐलेन कलेज अफ इन्जिनियरिङ प्रा.ली. इनरुवाले सम्वन्धित निकायबाट मान्यता नलिई बिराटनगरको स्किल फाउण्डेसनसँगको सहमतिका आधारमा प्राविधिक शिक्षा कक्षा संचालन गर्दै आएको छ ।

स्किल फाउण्डेसनले सीटीईभिटीबाट मान्यता पाएको भएपनि उसले अन्यलाई आफ्नो नामको अधिकार बेच्न नपाउने पूर्व क्षेत्र क्षेत्रीय निर्देशक डा. शिवप्रसाद दाहालले बताएका छन् । स्वयं कक्षा सञ्चालन गर्नु बेग्लै कुरो हो तर आफुले पाएको समवन्धनका आधारमा अन्य प्रालिका नाममा काम गर्ने सहमति र सम्झौता गराउनु गलत भएको दाहालले स्पष्ट पारे ।

नियम बिपरित गएर स्किलले कार्य गरेको पाइएकाले उसलाई समेत स्पष्टीकरण सहित ऐलेनसँगको सम्झौता रद्द गरी संचालनकालागि दिइएको भनिएको अनुमति अनुरुपका कार्यक्रम तत्काल बन्द गर्न भनिएको दाहालले बताए । अटेर गरेको खण्डमा स्किल फाउण्डेसनको इजाजतनै रद्दको प्रकृया अघि बढ्न सक्ने दाहालले जानकारी दिए ।

मनोजकुमार मेहता अध्यक्ष र विनोद शर्मा संचालक रहेको ऐलेन कलेज अफ इन्जिनियरिङ प्रालीले कम्प्युटर सिस्टम एण्ड डेभलोपर १३२० घण्टाको कार्यक्रम संचालन गर्दै आएको छ । सो कार्यक्रम छोटो अवधीको भएको र नियम अनुसार २ सिफ्टमा २० जनाका दरले ४० जना विद्यार्थी मात्र पढाउने पाइने कोर्षमा दोब्बर बढी संख्यामा विद्यार्थी सहभागि गराइनु समेत गलत रहेको सीटीईभिटीले जनाएको छ ।
कोर्ष बापत लिइने शुल्क समेत चर्को भएको भन्दै अभिभावकहरुले ऐलेन कलेज इनरुवा विरुद्ध अख्तियारमा समेत उजुरी गरेका छन् । ऐलेनले एक विद्यार्थी बराबर १ लाख २५ हजार शुल्क लिँदै आएको छ ।

कलेज विरुद्ध परेको निवेदनका समवन्धमा आवश्यक अनुसन्धान गरी सीटीईभिटीसँगको समन्वय र परामर्श पश्चात कार्वाहीको प्रकृया अघि बढाइने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । उता एलेन कलेज अफ इन्जिनियरिङ प्रा.लि इनरुवाका अध्यक्ष रहेका मनोज कुमार मेहताले आफ्नो कलेज कानुनी रुपमा संचालित रहेको दावी गरेका छन् । स्थानीय तह र समवन्धित निकायमा दर्ता गरी आवश्यक कर समेत बुझाउँदै आएको बताउने मेहताले स्किल फाण्डेसन सीटीईभिटीबाट मान्यता प्राप्त संस्था रहेकाले उसँगको सहमतिमा संचालनमा ल्याइएको आफ्नो कलेज वैधानिक भएको जिकिर गरे ।

मेहताले स्किल फाउण्डेसनले आफ्नो क्षेत्राधिकारमा रही आफ्नो संस्थासँग सम्झौता गरी कलेज संचालनकालागि सहमति दिएको जनाए । व्यक्तिगत रिसिवी साध्न आफु र आफ्नो संस्थालाई बदनाम गराउन खोजिएका भन्दै मेहताले कानुनी लडाई लड्ने प्रतिकृया दिएका छन् । सीटीईभिटी क्षेत्रीय कार्यालयले कार्वाहीको प्रकृया अघि बढाएको भन्ने सन्दर्भमा मेहताले क्षेत्रीय कार्यालयलाई वास्तविक नियम कानुनको बारेमा ज्ञाननै नभएकाले केन्द्रिय तहमा कुरो अघि बढाइएको बताए ।

यसैबिच ऐलेन कलेजसँग जोडिएर बाहिरिएको विषय प्रशङगका बारेमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद काठमाण्डौंसँग बुझ्दा एक संस्थाले पाएको समवन्धनका आधारमा अन्यले इजाजत वा सहमति, सम्झौताका नाममा कुनैपनि कलेज संचालन वा शिक्षासँग समवन्धित कार्य गर्न नपाइने स्पष्ट पारेको छ ।

प्रकाशित मिति: Feb 9, 2019

प्रतिक्रिया दिनुहोस्