Logo
१६ फाल्गुन २०८०, बुधबार
(January 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विरोधका बाबजुद राष्ट्रियसभाबाट बहुमतले पारित भयो चिकित्सा शिक्षा विधेयक

काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुको विरोधका बाबजुद उक्त विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको हो । अब राष्ट्रपतिले प्रमाणित गरेपछि ऐन बनेर लागू हुनेछ । प्रतिनिधिसभाबाट सन्देससहित राष्ट्रियसभामा पठाइएको विधेयक बहुमतले पारित भएको हो ।

चिकित्सा शिक्षा विधेयकमाथि राष्ट्रियसभामा दुईवटा संशोधन प्रस्तावसमेत दर्ता भएको थियो । राजपा सांसद वृषेशचन्द्र लाल र नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीसहितका सांसदहरुले छुट्टाछुट्टै संशोधन प्रस्ताव दर्ता गराएका थिए । संशोधन प्रस्तावमाथि छलफल गर्दै राजपा सांसद लालले उक्त विधेयक थप छलफलका लागि विधायन समितिमा पठाउन माग गरे । अर्का संशोधनकर्ता सांसद अधिकारीले भने छलफलमा भाग लिएनन् ।

दुबै संशोधन प्रस्तावलाई अध्यक्ष गणेश तिमिल्सिनाले निर्णयार्थ पेश गरेका थिए । दुबै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । संशोधन प्रस्तावमाथि जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित गराउन ढिला भइसकेको भन्दै थप छलफल गर्न समय नभएको बताए । उनले प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य समितिमा पर्याप्त छलफल भएको भन्दै पारित गर्नुपर्ने धारणा राखे ।

त्यस्तै, राष्ट्रियसभा बैठक सुरु हुनेवित्तिकै नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले समय लिएर बोल्दै केसीसँग वार्ता गर्न आग्रह गरेका थिए । उनले आजैका दिनदेखि वार्ता टोली गठन गरेर केसीसँग वार्ता गर्न आग्रह गरे ।

उनले प्रतिनिधिसभाभन्दा राष्ट्रियसभा परिपक्व भएकाले चिकित्सा शिक्षा विधेयकलाई परिमार्जन गर्नुपर्ने बताए । सांसद देवले विधेयकलाई विधायन समितिमा पठाउन माग गरे । उनले आफ्नो भनाइ टुंग्याएपछि कांग्रेस सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए ।

तर अध्यक्ष गणेश तिमिल्सिनाले सभाको कारबाही अगाडि बढाए । कांग्रेस सांसद अधिकारीले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएको भए पनि छलफलमा भाग लिएनन् । बिहीबार राष्ट्रियसभाको बैठकभरी नेपाली कांग्रेसका सांसदहरु भने उभिएरै विरोध जनाइरहेका थिए ।

प्रकाशित मिति: Jan 31, 2019

प्रतिक्रिया दिनुहोस्