Logo
१२ श्रावण २०८१, शनिबार
(January 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१ हजार ८५६ सहकारी संस्थाको सङ्ख्या घटाएर ७०० बनाउने तयारीमा महानगरपालिका

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका १ हजार ८५६ सहकारी संस्थाको सङ्ख्या घटाएर ७०० बनाउने भएको छ । संवैधानिक व्यवस्थाअनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्थाअनुरुप कामपाले आफ्ना क्षेत्रभित्रका साना सहकारीलाई एकीकृत गर्न लागेको हो ।

कामपा सहकारी विभागका प्रमुख नवराज ढकालका अनुसार मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेकाले समस्या भएकोले तिनको सही व्यवस्थापन गर्न एकीकृत प्रणालीअनुरुप जान लागिएको हो । १ हजार ८५६ सहकारी घटाएर ७०० बनाउने कामपाको लक्ष्य रहेको जनाइएको छ । सहकारी ऐन २०७४ र कामपाको सहकारी ऐन २०७४ अनुरुप कानूनीरुपमा नै एकीकृत गर्न सकिने व्यवस्था छ ।

सहकारीलाई एक बनाउन दुई सहकारी एकअर्कामा एकिकृत हुन तयार रहनुपर्छ । एकीकृत हुन चाहने दुईवटै सहकारीले कामपाको सहकारी विभागका निवेदन दिनुपर्छ । त्यसपछि कामपाले थप प्रक्रिया अघि बढाउने विभागका प्रमुख ढकालले जानकारी दिए । सहकारी गाभ्न कामपाको चाहनाले मात्र नहुने हुँदा सञ्चालकले इच्छा राख्नुपर्दछ । समान प्रकृतिका सहकारी एकआपसमा गाभ्न सकिनेछ ।

कामपाका सहकारीमध्ये सबैभन्दा बढी बचत तथा ऋण सहकारी एक हजार ६४४, बहुद्देश्यीय १५६ र विषयगतअन्तर्गत उपभोक्ता, दुग्ध, कृषि, शिक्षा, सञ्चारलगायत सहकारी छन् । सर्वसाधारण ठगी गरेको भन्दै सहकारीविरुद्ध ६० मुद्दा परेकामा ३५ को फछ्र्यौट गरिसकेको विभागले जनाएको छ । मुद्दामध्ये ४० भन्दा बढीले नागरिकको पैसा समयमा नै फिर्ता नगरेको छन् ।

त्यस्तै, कामपाले पछिल्लो समय सहकारीको अनुगमन पनि शुरु गरेको छ । पहिलो चरणमा नियम बाहिर रही सञ्चालन भई पत्रचार गरिएकालाई कारवाहीको प्रक्रिया अघि बढाइनेछ । दोस्रो चरणमा अन्यलाई अनुगमन गरी आवश्यकताअनुरुप निर्देशन दिइने बताइएको छ ।निर्देशन पालना नगरे कामपाको सहकारी ऐनअनुरुप कारवाहीको प्रक्रिया अघि बढाउने ढकालले बताए । सबै सहकारी काठमाडौँ महानगरपालिका सहकारी ऐन २०७४ अनुसार सञ्चालन गरिनुपर्नेछ ।

कामपाका सहकारीमा करीब दुई लाख सदस्य छन् भने ८ हजारले रोजगारी पाएका छन् । सबै सहकारीबाट करीब रु सात अर्ब शेयर, करीब रु ५२ अर्ब बचत परिचालन र रु ४१ अर्ब बराबरको ऋण प्रवाह भएको ढकालले जानकारी दिए । सहकारी दर्ता हुनेक्रम दिनदिनै बढीरहेको छ ।

सहकारी विभाग प्रमुख ढकालले भने, “आगामी दिनमा नयाँ सहकारीलाई सञ्चालनका लागि अनुमति दिनेभन्दा पनि सञ्चालनमा रहेकालाई नियमन र निर्देशन गरी राम्रो बनाउनेतर्फ हाम्रो जोड रहनेछ ।” सबै सहकारीलाई दैनिकरुपमा अनलाइनमार्फत आफ्नो जानकारी गराउन पनि कामपाले निर्देशन दिएको छ ।

प्रकाशित मिति: Jan 29, 2019

प्रतिक्रिया दिनुहोस्