Logo
१२ श्रावण २०८१, शनिबार
(January 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८ वटा नयाँ कानुन बनाउँदै पोखरा महानगरपालिका

पोखरा : पोखरा महानगरपालिकाको चौथो नगरसभाले ८ वटा कानूनका मस्यौदालाई स्वीकृत गर्ने भएको छ । पोखरा सभागृहमा आजदेखि शुरु नगरसभामा विधायन समितिका सभापति शोभामोहन पौडेलले समितिले तयार गरेका ती विधेयकहरुलाई सभामा प्रस्तुत गरेका थिए ।

सभामा महानगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, नगर खेलकूद विकास, नगर प्रहरी व्यवस्थापन, पर्यटक विकास, पूर्वाधार विकास, सुशासन, आर्थिक ऐन र सहकारी विधेयकको मस्यौदालाई प्रस्तुत गरिएको थियो ।

विधेयकका मस्यौदामाथि विस्तृत छलफल गरी यसै सभाबाट पारित गरिने कार्यक्रम रहेको उनले जानकारी दिए । महानगरपालिकाले यसअघि ४३ वटा विभिन्न ऐन, कार्यविधि, निर्देशिका र नियमावली बनाइसकेको छ ।

नगरसभामा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कानूनको अभावमा महानगर अल्झनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले सङ्घ र प्रदेशसँग समन्वय गरी अघि बढिरहेको बताए । जनताको चाहनाअनुरुप महानगरलाई समृद्ध बनाउन आफूहरु क्रियाशील रहेको बताउँदै उनले समृद्धि र विकासका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेकोमा जोड दिए ।

नगर सभासदलाई अध्ययनका लागि प्रदान गरिएको प्रस्तुत मस्यौदामाथि आगामी आइतबार छलफल गरी पारित गरिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए।

प्रकाशित मिति: Jan 25, 2019

प्रतिक्रिया दिनुहोस्