Logo
१६ फाल्गुन २०८०, बुधबार
(January 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सचिवको दोष की मन्त्रीको ? भन्ने बहसबीच सार्वजनिक भयो मन्त्री यादवको नालीबेली

जनकपुरधाम : प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव र सचिव विद्यानाथ झा देशैभर चर्चाको पात्र बनेका छन्। चर्चा हुनुको कारण मन्त्रीले सचिव कुट्नु र सचिव पनि मन्त्रीविरुद्ध अशोभनीय तरिकाले आक्रोशित हुनु हो। मन्त्री यादवले आफ्नो पदीय मर्यादा नै बिर्सेर सचिव झालाई कार्यकक्षमै सभामुख सरोजकुमार यादवको अगाडि हातपात गरेको घटना चर्चामा छ।

घटनापछि सचिव झाले समेत आक्रोशित हुँदै निकै अभद्र गाली दिएको भिडिओ फुटेज भाइरल भएको छ। तर मन्त्री यादवले उनलाई कुटेको पाँच औंलाकै डाम गालामा देख्दा उनको आक्रोश सोही कारणले निस्किएको प्रस्ट हुन्छ। सचिवलाई कुटेर पनि मन्त्री यादवले गल्ती भने स्वीकार गरेका छैनन्। उनले सचिव नै आफूमाथि जाइलागेपछि सामान्य विवाद मात्रै भएको दाबी गर्छन्।

मन्त्री यादव र सचिवबीचको विवादले प्रदेश २ को प्रशासनिक कार्य नै प्रभावित भएको छ। कर्मचारीहरू सचिव कुट्ने मन्त्रीलाई कारबाहीको माग गर्दै आन्दोलित छन्। मन्त्रीजस्तो मर्यादित पदमा बस्ने व्यक्तिले यस प्रकारका अमर्यादित गतिविधि कसरी गर्न सक्छन् भन्ने प्रश्न चौतर्फी उठेको छ। मन्त्री यादवले आफूनिकट गैरसरकारी संस्थालाई कार्यक्रम नपारेको भन्दै सचिव झामाथि रिस पोखेको झाको आरोप छ।

मन्त्री यादव पदमा आसीन भएदेखि नै निरन्तर विवादमा छन्। आफ्नो गृह जिल्लामै उनले सत्ताको बलमा गरेका केही क्रियाकलाप निकै चर्चामा छन्। मन्त्रीको पदमा बहाली भएदेखि नातागोतालाई प्राथमिकतामा राखेका छन्। जबर्जस्ती सबओभरसियरलाई गाउँपालिकामा हाजिरी गराउनेदेखि सरकारी विद्यालयका प्रधानाध्यापकलाई निजी सचिव बनाउने जस्ता कामका कारण उनी विवादमा छन्।

आफ्नै बुवालाई उपभोक्ता समितिको अध्यक्ष बनाएकाले पनि उनी विवादमा छन्। सचिव कुटेको घटनासँगै उनी मुछिएका घटना सार्वजनिक हुन थालेका छन्।

प्रसंग एक
२०७४ पुस २८ गते प्रदेशसभा सदस्य रहेका बेला यादवले आफ्नो घर भएको सिरहाको औरही गाउँपालिका– ४ मा सबओभरसियर दिनेश यादवलाई हाजिर गराउन ‘पावर’ देखाएका थिए। रीतपूर्वक सबओभरसियर यादव गाउँपालिकामा नआउँदा उनलाई हाजिर गराउन कठिनाइ भएको थियो। यादवले गाउँपालिकामा आफ्नो शक्ति देखाउन उनको हाजिरी गराएरै छाड्ने ढिपी कसे।

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भागीरथ रेग्मी सिरहा सदरमुकाममा डेरा गरी बस्थे। यादव आफैं गाडी लिएर उनको डेरा पुगे। रेग्मीलाई गाडीमा चढेर तुरुन्त गाउँपालिका जान कर गरे। रेग्मीले आफ्नै मोटरसाइकलमा आउने बताए पनि यादवले जबर्जस्ती गाडीमा हिँड्न दबाब दिएका थिए। ‘सांसदकोे गाडीमा एकजना चिनेका मान्छे थिए, उसले पनि जाऊँ केही हुँदैन भन्यो’, रेग्मी भन्छन्, ‘त्यसपछि गाडीमा चढें। एकछिन सिरहा नगरपालिकामा काम पनि थियो, त्यो पनि गरें, तर यादवले जबर्जस्ती गाउँपालिका लगे।’

रेग्मीका अनुसार गाउँपालिका पुगेपछि ओभरसियरको हाजिर गराउने टिप्पणी उठाउन सांसदले भनेपछि आफूलाई केका लागि लगिएको हो भन्ने बल्ल थाहा पाए। अध्यक्ष गाउँपालिकामा थिएनन्। यादवकै पार्टी संघीय समाजवादी फोरम नेपालबाट उपाध्यक्ष जितेकी सीतादेवी यादवले टिप्पणी सदर गरिन्। ‘यो कानुनविपरीत हो, बदर हुन्छ भनेर सांसद्लाई पटकपटक सम्झाएँ तर मान्नुभएन’ रेग्मीले भने, ‘उहाँले एउटै कुरा दोहो¥याउनुभयो, ‘हामी बहुमत पु¥याउँछौं, गाउँपालिकामा टिप्पणी सदर हुन्छ।’

रेग्मीले आफूसँग सांसद यादवले गराएको काम तीनचार दिनमै गाउँपालिका अध्यक्ष र मन्त्रालयमा जानकारी गराए। आफैं सरुवा गराएर उनी अन्यत्र गए। हाजिरी गराउन ओभरसियरसँग पैसाको लेनदेन भएको चर्चा पनि चल्ने गरेको छ। अहिले त्यो हाजिरी बदर भइसकेको छ। कानुनविपरीत भएकाले बदर गरिएको गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले बताए।

प्रसंग दुई
गत भदौ ५ गते मन्त्री यादवले सिरहाको बरियारपट्टि गाउँपालिका– ४ का सञ्जयकुमार यादवलाई आफ्नो निजी स्वकीय सचिवमा नियुक्त गरे जबकि अर्नमा गाउँपालिका– ३ मा रहेका आधारभूत विद्यालय महेशपुर धोक्रेका प्रधानाध्यापक हुन् सञ्जय।

कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा जम्मा चारजनाको दरबन्दी शिक्षक छ, जसमा एउटा दरबन्दी खाली नै छ। त्यस विद्यालयमा पुनमकुमारी यादव र विन्देश्वर यादव दरबन्दीका शिक्षक छन्। पुनम सञ्जयकी पत्नी हुन्। आफू मन्त्रीको निजी स्वकीय सचिवमा भएपछि उनले पत्नी पुनमलाई विद्यालयको निम्ति प्रधानाध्यापक बनाएका छन्। ‘दरबन्दीअनुसार शिक्षक छैन, विद्यालयको शिक्षक पनि मन्त्रीको स्वकीय सचिव बनेपछि पढाइ प्रभावित हुने गरेको छ’, सोही गाउँका एक व्यक्तिले भने, ‘त्यसो त सञ्जय कहिल्यै पनि दैनिक रूपमा विद्यालय पढाउन आएनन्।’

सञ्जय निजी स्वकीय सचिवमा नियुक्त भएको एक हप्तापछि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट विद्यालयमा एउटा पत्र गएको छ। पत्रमा शिक्षक यादवले खाइपाइआएको तलब सुविधा खुलाएर पठाउन भनिएको थियो। मन्त्रीको निजी स्वकीय सचिव भएर काम गर्दा पनि शिक्षक यादवले विद्यालयबाट समेत तलब लिँदै आएका छन्। निमित्त प्रअ पुनमका अनुसार पुस महिनासम्मको तलब पाएका छन्।

शिक्षा विकास तथा समन्वय एकाइ सिराहाका प्रमुख डोलराज पाण्डेका अनुसार प्रदेश मन्त्रालयबाट निजी स्वकीय सचिव नियुक्त गरिएको जानकारी आएकाले शिक्षक सञ्जयलाई काजमा पठाइयो। ‘अन्य ठाउँमा पनि काजमा पठाएको सुनेकाले पठाएको हुँ’, पाण्डेले भने, ‘काननुतः मिल्नेनमिल्नेबारे अब चासो लिएर अध्ययन गर्छु।’ अर्नमा गाउँपालिका लेखाअधिकृत नरेश कामतीका अनुसार शिक्षकले माग फारम पेस गरेका आधारमा तलब निकासा गरिएको हो। मन्त्रीको निजी सचिव नियुक्त भएको भने जानकारी भएको उनले बताए।

प्रसंग तीन
चालु आर्थिक वर्षमा प्रदेश सरकारको योजनाबाट सिँचाइका लागि मन्त्री यादवले आफ्नो घर भएको औरही गाउँपालिकामा १३ करोड रुपैयाँको योजना ल्याएका छन्। सुरुमा योजना माग गर्ने भनेर वडा नम्बर ३ र ४ मा किसानहरूसँग हस्ताक्षर गराइएको थियो। पछि मन्त्री यादवले आफ्नै बुवा फुलेश्वर यादवलाई उपभोक्ता समितिको अध्यक्ष बनाए। त्यो तथ्य खुलेपछि स्थानीयले विरोध गरे। विरोधपछि सिँचाइ डिभिजन कार्यालय सिराहामा उपभोक्ता समिति गठन भएको फाइल दर्ता भएन।

वडा नम्बर ४ का अध्यक्ष उपेन्द्र यादवले योजना आएको र उपभोक्ता समिति गठन भएको कुनै आधिकारिक जानकारी नै नभएको सुनाए। ‘कुनै पनि योजनामा वडाध्यक्षको सिफारिस आवश्यक पर्छ, तर यस सिँचाइ योजनामा उपभोक्ता समिति गठन भएको गाइँगुइँ जानकारी पाए’ उनले भने, ‘आधिकारिक रूपमा हामीलाई जानकारी आएको छैन।’

सिँचाइ डिभिजन कार्यालय सिरहाका प्रमुख श्यामनन्दन यादवका अनुसार योजनाका लागि उपभोक्ता समिति गठन भए पनि कार्यालयमा आधिकारिक रूपमा दर्ता भएको छैन्। ‘उपभोक्ता समिति बनेकोबारे हल्ला सुनें, तर आधिकारिक जानकारी छैन’ उनले भने, ‘उपभोग गर्ने किसान उपभोक्ता समितिमा आउनुपर्छ, कोको छन्, त्यो दर्ता भएपछि मात्रै थाहा हुन्छ।’

राजनीतिक यात्रा
प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री यादवको घर सिरहाको औरही गाउँपालिका– ३ खजनपुर हो। उनका बुबाको नाम फुलेश्वर यादव। उनका बुबा सुन्दर जनता मावि औरहीका अवकाश प्राप्त प्रधानाध्यापक हुन्। अहिले सोही विद्यालयमा उनको जेठा दाइ श्यामनन्दन यादव गणित शिक्षक छन्।

मन्त्री विजय यादव एसएसली सिरहाको बस्तीपुर माविबाट पास गरेका छन्। भारतको मधुवनीबाट आईएस्सी गरेका उनले भारतकै पटनाबाट बीई (इलेक्ट्रिक इन्जिनियर) गरे। उनी पढेर नेपाल फर्किंदा पहिलो मधेस आन्दोलन जारी थियो। त्यही आन्दोलनबाट उनी राजनीतिमा प्रवेश गरे। २०६४ को संविधानसभा चुनावमा उनी सिरहा ३ बाट निर्वाचित भए। तत्कालीन झलनाथ खनालको पालामा उनी १३ दिन वाणिज्य तथा आपूर्तिमन्त्री पनि भए।

२०७० सालको निर्वाचिन उनी पराजित भए। २०७४ को निर्वाचनमा भने सिराहाको निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए। प्रदेश २ को आर्थिक मामिला तथा योजनामन्त्री बने। श्रोतः अन्नपूर्ण । सम्भु यादव

प्रकाशित मिति: Jan 19, 2019

प्रतिक्रिया दिनुहोस्