Logo
१२ श्रावण २०८१, शनिबार
(January 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अस्पतालमा सार्ने तयारी

काठमाडौं : इलाम बजारको पश्चिममा पर्ने इन्द्रमाया लिम्बूको घरमा पुस २५ गतेदेखि १६ औं अनशन शुरु गरेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका हाडजोर्नी विशेषज्ञ प्रा डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गरेको उनका सहयोगीहरुले बताएका छन् ।

उनको मुटुको चाल अनियमित र छातीको संक्रमणमा देखिएको सहयोगीहरुको भनाई छ । भोलि बिहान केसीलाई सत्याग्रह स्थलबाट इलाम जिल्ला अस्पताल सार्ने तयारी भइरहेकाे छ ।

प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै केसी आमरण अनशनमा बसेका हुन् ।

प्रा.डा.केसीले यसअघिको १५ औंँ अनशन तोड्दा भएका सम्झौता सरकारले हुबहु पालना नगरेका कारण १६ औंँ चरणको आमरण अनशन बस्नुपरेको उनका निकट सहयोगी धर्म गौतमले बताए ।

यसैबीच अनसन बसिरहेका केसीलाई एक युवकले चुनौति दिएका छन् । काठमाडौँ, कागेश्वरी मनहरा वडा नं २ निवासी २७ वर्षीय विजय थापा संसदीय समितिले हालै बहुमतले पारित गरेको चिकित्सा विधेयक कसैको दवाव र प्रभावमा नपरी सार्वभौम संसद्बाट पारित हुनुपर्ने माग गर्दै इलाममै आमरण अनशनमा बसेका छन् ।

काठमाडौँस्थित पशुपति बहुमुखी क्याम्पसका विद्यार्थी थापा इलामको मुख्य चोकस्थित लाँकुरी चौतारामा यही पुस २७ गतेदेखि अनशनमा बसेका हुन् । थापाले राखेका नौ मागमध्ये पहिलो माग नै प्रा डा केसीको मुख्य मागको ठीक विपरीत छ ।

दुवै अनशनस्थलको दूरी एक किलोमिटरभन्दा कम छ । इलामकै भिन्न भिन्न स्थानमा आमरण अनशन भइरहेपछि इलामका बासिन्दा विभाजित बनेको पाइएको छ । दुवै अनशनस्थलमा नेपाल प्रहरीले सुरक्षा पहरा दिँदै आएको छ ।

प्रकाशित मिति: Jan 13, 2019

प्रतिक्रिया दिनुहोस्