Logo
१२ श्रावण २०८१, शनिबार
(January 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऊर्जा, व्यापारलगायतका विषयमा नेपाल–फ्रान्स परामर्श बैठक आज हुने

काठमाडौँ : नेपाल–फ्रान्स परामर्श बैठक बुधबार हुँदैछ । दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा हुन लागेको उक्त बैठकमा भाग लिन फ्रान्सका विदेश सचिव मोरिस गर्दो मोन्तानको नेतृत्वमा पाँच सदस्यीय फ्रान्सेली प्रतिनिधिमण्डल बुधबार नै नेपाल आइपुग्ने छ ।

फ्रान्सका विदेश सचिव आफ्ना नेपाली समकक्षी शङ्करदास वैरागीको निमन्त्रणामा बुधबार अपराह्न राजधानी आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा दुई देशबिचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने तथा पारस्परिक हित र लाभका समग्र विषयमा विचार विमर्श हुने सचिव वैरागीले जानकारी दिए ।

“परामर्श बैठकमा ऊर्जा, व्यापार, पर्यटन, शहरी विकास, सूचना तथा सञ्चार, जलवायु परिवर्तन, संस्कृतिलगायत विषयमा छलफल हुनेछ,” उनले भने ।

नेपाल–फ्रान्स कूटनीतिक सम्बन्धको ७० औँ वर्ष प्रवेश आगामी अप्रिल २० तारिखमा हुने तथा त्यसपछि वर्षभरि दुवै देशले आयोजना गर्ने विविध कार्यक्रमबारे पनि आफूहरूबिच छलफल हुने सचिव वैरागीले बताए ।

बैठकमा अर्थ, उद्योग र वाणिज्य, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् ।

बैठकपछि दुवै देशका परराष्ट्र सचिवले परराष्ट्र मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । यसअघि सचिव वैरागीले आफ्ना समकक्षीसँग गत कात्तिक २६ गते पेरिसमा भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति: Jan 9, 2019

प्रतिक्रिया दिनुहोस्