Logo
२० बैशाख २०८१, बिहीबार
(January 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैदेशिक रोजगारीमा गएका १९४ महिला सम्पर्कविहीन

राँझा : वैदेशिक रोजगारीमा गएका बाँकेका १९४ महिला घरपरिवारबाट सम्पर्कविहीन भएका छन् । राम्रो रोजगारी पाइने प्रलोभनमा दलालमार्फत छिमेकी मुलुक भारत र खाडी राष्ट्रमा पुगेका महिला सम्पर्कविहीन हुन पुगेको मानवबेचविखन विरुद्ध क्रियाशील संस्थाले जनाएका छन् ।

बितेको एक वर्षमा १९४ महिलाका परिवारले खोजतलासका लागि नेपालगञ्जस्थित माइती नेपालको कार्यालयमा निवेदन दिएको सो संस्थाका संयोजक केशव कोइरालाले बताए । आफन्तका अनुसार उनीहरू जोखिमपूर्ण यात्रामा भारत तथा खाडी मुलुकमा पुगेर हराएका छन् ।

माइती नेपाल नेपालगञ्ज कार्यालयको सन् २०१८ को तथ्याङ्कअनुसार, बाँकेको कोहलपुर नगरपालिकाका ६२ जना, नेपालगञ्ज उपमहानगरपालिकाका ४२, राप्तीसोनारी गाउँपालिकाका ३१, बैजनाथ गाउँपालिकाका ३३, खजुरा गाउँपालिकाका २०, जानकी गाउँपालिकाका चार र डुडुवा गाउँपालिकाका दुईजना घरपरिवारको सम्पर्कमा छैनन् ।

प्रायः पर्यटन भिसामा खाडी मुलुकमा जाने उनीहरू तीन महीनासम्म घरपरिवारसँग सम्पर्कमा रहे पनि त्यसपछि लुकेर काम गर्नुपर्ने बाध्यता रहेको कोइरालाले बताए । कतिपयलाई मालिकले जोखिमपूर्ण काममा लगाई घरपरिवारसँग सम्पर्क गर्न नदिने गरेको अवस्था छ ।

इलाका प्रहरी कार्यालय जमुनाहका इञ्चार्ज प्रहरी नायव निरीक्षक शिवकुमार वलीले पठाउँदा लुकीछिपी दलालको विश्वासमा पठाउने र हराएपछि मात्र प्रहरी र सङ्घसंस्थाको सम्पर्कमा आउने हुनाले खोजतलासमा कठिनाइ हुनेगरेको बताए ।

मानवबेचिबिखन विरुद्ध कार्यरत सङ्घसंस्थाहरूसँग समन्वय गरी मानव बेचबिखन विरुद्ध क्रियाशील रहेको उनको भनाइ छ । सन् २०१८ मा असुरक्षित यात्रामा रहेका ९२० जनालाई नेपालगञ्ज नाकाबाट फिर्ता गरिएको छ ।

प्रकाशित मिति: Jan 2, 2019

प्रतिक्रिया दिनुहोस्