Logo
३१ बैशाख २०८१, सोमबार
(December 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारलाई उपसचिवको चुनौती : कोही माइकालाल जन्मिएको छ ? केपी ओलीसहित !

विराटनगर : बिराटनगरबाट एकजना उपसचिवले ओली सरकारलाई कडा चुनौती दिएका छन् । विराटनगरबाट इटहरी सरुवा गरिएपछि आक्रोशित बनेका ती उपसचिवले सोमबार पत्रकार सम्मेलको आयोजना गरेर प्रधानमन्त्री, मन्त्री र सचिवलाई हाँक दिएका हुन् । उपसचिव प्रेम सञ्जेलले सोमवार पत्रकार सम्मेलन गरेर भने- ‘मैले यहाँ लल्कारेर भन्छु, रंगशालामा आउनुस् । प्रेम सञ्जेललाई ४० वर्षको अवधिमा कहाँकहाँ म्यानुपुलेट गरियो ? कहाँ घुस खुवाइयो ?’

आफूलाई भ्रष्टाचार गर्‍यो भन्ने आरोप लगाएर सुरुवा गरिएकोतर्फ संकेत गर्दै उपसचिव सञ्जेलले घुस खाएको प्रमाणित गरेर देखाउन प्रधानमन्त्री ओली, श्रममन्त्री गोकर्ण विष्ट र सचिव महेश दाहाललाई समेत चुनौती दिए । ‘नेताले कति फटाइँ गर्छ, उनीहरुलाई नै सोध्नुस्, यो ४० वर्षको अवधिमा एकजना मान्छे देखाउनोस्, जसले प्रेम सञ्जेललाई घुस खुवाएँ भन्न सकोस्,’ आक्रोशित हुँदै ती उपसचिव सञ्जेलले भने, ‘कोही माइकालाल जन्मिएको छ ? केपी ओलीसहित !’

सञ्जेल गत असोज २५ गतेसम्म निर्वाचन कार्यालय मोरङमा कार्यरत थिए । असोज २५ गते उनी निर्वाचन कार्यालयबाट श्रम तथा रोजगार कार्यालय बिराटनगरमा सरुवा भए । श्रम तथा रोजगार कार्यालय बिराटनगरमा सरुवा भएको अढाइ महिना पनि नपुग्दै उपसचिव सञ्जेललाई सरकारले अहिले सीप विकास कार्यालय इटहरीमा कामकाज गर्ने गरी सरुवा गरेको छ ।

यो सरुवाप्रति असन्तुष्ट उपसचिव सञ्जेलले पत्रकार सम्मेलन गरेर आक्रोश पोखेका हुन् । पत्रकार सम्मेलनमा उनले भने– कुनै पनि चिजलाई भित्तासम्म लैजानुहुँदैन । सिंहले पनि धेरै आक्रमण गर्दा राँगोले सिंह मारेको रेकर्ड छ, त्यो पोजिसन नहोस् ।’ वैदेशिक श्रम स्वीकृतिमा घुस खान पाइँदैन भनेर आफूलाई सरुवा गरिएको सञ्जेलले दाबी गरे ।

आफ्नो सरुवा बदनियतपूर्ण भएको भन्दै उनले श्रममन्त्री गोकर्ण विष्ट र सरुवाको पूर्जी दिने सचिव महेश दहालले यसको जवाफ दिनुपर्ने बताए । निजामती कर्मचारी ऐन ०४९ र नियमावली ०५० अनुसार कुनै पनि कर्मचारीलाई उचित कारणबिना दुई वर्ष नपुग्दै सरुवा गर्न नपाइने उनले बताए । आफूलाई कारण नखुलाई सरुवा गरिएको भन्दै उनले यसको कानुनी उपचारसमेत खोज्ने बताए ।

प्रकाशित मिति: Dec 24, 2018

प्रतिक्रिया दिनुहोस्