Logo
२० बैशाख २०८१, बिहीबार
(December 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी ३ जिल्लाका लागि खुसीको खबर : कृषि प्रविधि विस्तारका लागि चीनले गर्यो ४४ करोड सहयोग

भूकम्प प्रभावित तीन जिल्लामा कृषि अनुसन्धान तथा प्रविधि विस्तारका लागि चीन सरकारले २ करोड ७० लाख युवान सहयोग गर्ने भएको छ । दुई देशका अधिकारीबीच गरिएको सम्झौताअनुरूपको यो रकम हालको मूल्यमा करिव ४४ करोड रूपैयाँ हो ।

बुधबार मन्त्रालयमा एक कार्यक्रम गरी कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल, राज्यमन्त्री रामकुमारी चौधरीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

नेपालका तर्फबाट योजना महाशाखा प्रमुख, सहसचिव डा। योगेन्द्रकुमार कार्की र चीनका तर्फबाट विभागका प्रबन्ध निर्देशक बेन जेनले हस्ताक्षर गरे । सम्झौता बमोजिमको परियोजना २०७२ सालको भूकम्पबाट प्रभावित सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा कृषि अनुसन्धान तथा प्रविधि विस्तारका लागि खर्च गरिने मन्त्रालयले जनाएको छ ।

चाइना नेपाल एग्रिकल्चर कोअपरेसन प्रोजेक्ट लागू गरिएका तीन जिल्ला आलुबालीलगायतका तरकारी खेती र रेम्बो ट्राउट माछाका लागि चर्चित मान्छिन् । परियोजनाले तीनै जिल्लामा आलुबाली र रेम्बो ट्राउट माछाका साथै च्याउ, तरकारी, घाँस खेती र कुखुरापालनको क्षेत्रमा अनुसन्धान गरी अत्याधुनिक प्रविधि भित्र्यायन सहयोग गर्ने बताइएको छ ।

“नेपाली किसान र प्राविधिकलाई चीन पठाएर त्यहाँको प्रविधि प्रत्यक्ष हेर्दै तालिम दिने योजना छ, चिनियाँहरू पनि यहाँ आएर प्राविधिक तालिम दिनेछन्,” मन्त्रालयका सहसचिव कार्कीले भने, “यो प्रोजेक्ट सुरुवात मात्र हो, चीन सरकार र नेपाल सरकारबीच विस्तारै थप सहकार्य आदान-प्रदान गर्र्ने सहमति भएको छ ।” यसअघि कतार सरकारसँग पनि कृषिसम्बन्धी परियोजनाका लागि सम्झौता भइसकेको छ भने नेदरल्यान्डस् र इजरायलसँग सम्झौताको तयारी भइरहेको उनले बताए ।

परियोजनाअन्तर्गत तीन जिल्लामा खट्ने कृषि प्राविधिक र छानिएका कृषकलाई चीन तथा नेपालमै पनि प्राविधिक तालिम दिएर अनुसन्धान तथा विकासमा लगाइने विषय समेटिएको मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले बताए । बुधबार अर्थात् १९ डिसेम्बर २०१८ देखि लागू भएको परियोजना १८ डिसेम्बर २०२१ सम्म चल्नेछ ।

प्रकाशित मिति: Dec 20, 2018

प्रतिक्रिया दिनुहोस्