Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्यकर्मी फोरमको कार्यक्रममा यादवले भने-‘स्वास्थ्य नीति २०७५ ल्याउने तयारी भइरहेको छ’

काठमाडौँ :  स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्ने गरी स्वास्थ्य नीति २०७५ ल्याउने तयारी भइरहेको बताएका छन  । स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश नं ३ को आज काठमाडौँमा भएको पहिलो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राज्यमन्त्री यादवले पहिलोपटक स्वास्थ्य नीति ल्याउन लागिएको जानकारी गराए । उनले व्यवस्थित अस्पताल निर्माण गरी गुणस्तरीय स्वास्थ्य सेवा दिने कुरालाई अब ल्याउन लागिएको नीतिले सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

छात्रवृत्ति प्राप्त स्वास्थ्यका विद्यार्थीमध्ये ९० प्रतिशत विदेशीने गरेको प्रसङ्ग जोड्दै राज्यमन्त्री यादवले यसलाई रोक्नका लागि नीति महत्वपूर्ण भएको बताए। “नीतिका विषयमा अहिले विभिन्न निकायसँग छलफल भइरहेको छ,” उनले भने । उनले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको उल्लेख गर्दै मन्त्रालयले समाधानको प्रयास जारी राखेको बताए ।

कार्यक्रममा मधेशी स्वास्थ्यकर्मी फोरमका केन्द्रीय अध्यक्ष बालकिशोरप्रसाद यादवले अहिले सरकारले ल्याएको समायोजन विधेक स्वास्थ्य क्षेत्रका कर्मचारीको हितमा नरहेकाले त्यसलाई सच्याउनुपर्नेमा जोड दिए । उनले प्रशासन क्षेत्रका कर्मचारीले पाएसरहको सुविधा स्वास्थ्यका कर्मचारीलाई पनि उपलब्ध गराउन सरकारसँग माग गरेका छन ।

नयाँ कार्यसमिति चयन

सङ्घीय समाजवादी फोरम नेपाल निकट सङ्गठन स्वास्थ्यकर्मी फोरम नेपालको पहिलो अधिवेशनले प्रदेश नं ३ मा नयाँ कार्यसमिति चयन गर्ने तदर्थ समितिका अध्यक्ष अरुणकुमार महतोले जानकारी दिए । उद्घाटन समारोहमा डा सीमा सिंह, रमेश राई, आशा सिंह, रामशुभक महतो, सञ्जय ठाकुर, डा राजेश चौधरी, सुरेन्द्रप्रसाद यादवलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा लाक्पा शेर्पा, कुमार केसी, डा केके राई, शम्भुप्रसाद यादव, सचितानन्द जयसवाल, भूपेन्द्रकुमार बस्नेत, गणेश गुरुङलगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति: Dec 15, 2018

प्रतिक्रिया दिनुहोस्