Logo
७ जेष्ठ २०८१, सोमबार
(December 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुठी संस्थानले जिम्मेवारी लिएको यी पाँच सम्पदाहरु पुनःनिर्माण अनिश्चित

काठमाडौँ : विनाशकारी भूकम्प गएको तीन वर्ष नाघिसक्दा पनि अहिले सम्म क्षतिग्रस्त ठूल्ठूला पाँच सम्पदा स्थलहरुका पुनःनिर्माणको टुङ्गो लाग्न सकेको छैन ।

साढे तीन वर्ष वितिसक्दा समेत खिचापोखरीको रणमुक्तेश्वर, टुँडिखेलको महाङ्काल मन्दिर, भक्तपुरको जङ्गम मठ, थापाथली कालमोचनघाटको जँग–हिरण्य–हेम–नारायण मन्दिरसँगैको सत्तल र वसन्तपुरको कुमारी घर पुनःनिर्माण कहिले हुने निश्चित नभएको हो ।

पाँचवटै सम्पदास्थलको प्रारम्भिक अध्ययनका लागि पुरातत्व विभागको स्वीकृतिमा गुठी संस्थानलाई जिम्मेवारी दिइएको थियो । संस्थानले रु १२ लाख खर्च गरेर परामर्शदाता नियुक्त गरी नक्सासमेत बनाइसकेको उपप्रशासक दीपकबहादुर पाण्डेले जानकारी दिए । पुनःनिर्माणका लागि स्वीकृति नआउँदा ती सम्पदा अलपत्र बनेको उहाँको भनाइ छ ।

रणमुक्तेश्वर पुनःनिर्माणका लागि रु १४ करोड ६२ लाख २४ हजार, महाङ्काल मन्दिरका लागि रु २८ लाख ३० हजार, जङ्गम मठका लागि  रु १३ करोड ९२ लाख, जँग-हिरण्य-हेम-नारायण सत्तलका लागि रु १३ करोड र कुमारी घरका लागि रु सात करोड ६८ लाख लाग्ने अनुमान गरिएको थियो ।

संस्थानले बनाएको नक्सा विभागले पास गरेपनि पुनःनिर्माण र नियमित दुबै बजेटमा समावेश नगरेको उपप्रशासक पाण्डेले बताए । बनाउने निश्चित नभएपछि सबै सम्पदा स्थलमा टेको लगाएर अड्याइएको छ ।

विभागका प्रवक्ता रामबहादुर कुँवर भने कुमारी घर पुनःनिर्माण गर्न संस्थानलाई स्वीकृति दिइएको बताउछन् । भक्तपुरको जङ्गम मठ भारत सरकारको अनुदानमा बन्ने सम्पदाको सूचीमा रहेको जानकारी पनि उनले दिए ।

महाङ्काल (शनिदेव) मन्दिर र सङ्कटा मन्दिर गुठियारले नै बनाउन प्रस्ताव गरेका छन् । महाङ्काल मन्दिर अघि मूल सडकबाट तीन वटा भ¥याङ राख्ने स्थानीयवासीको मागलाई स्वीकृति दिन नसकिने विभागले जनाएको छ । रणमुक्तेश्वर र जँग-हिरण्य-हेम-नारायण सत्तल आगामी आर्थिक वर्षमा पुनःनिर्माण गर्ने गरी कार्यक्रम बनाउन लागिएको विभागले जनाएको छ ।

प्रकाशित मिति: Dec 14, 2018

प्रतिक्रिया दिनुहोस्