Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाहपञ्चमीको पाँचौं दिन : राममन्दिरमा र जानकी मन्दिरमा छुट्टा-छुट्टै मटकोर

जनकपुरधाम : साताव्यापी राम जानकी विवाह महोत्सवको आज पाँचौं दिन । बेहुलाबेहुली बस्ने मण्डप बनाइँदैछ । मण्डप बनाउन भारतको ऐतिहासिक नगरी गंगासागरबाट माटो ल्याउने प्रचलन छ ।

रामजानकी मन्दिरका महन्थसहित पोखरीबाट पवित्र माटो ल्याइ स्वयंवर (विवाह) को अघिल्लो दिन मण्डप बनाउने यो विधिलाई ’मटकोर’ भनिन्छ । जनकपुरस्थित राममन्दिरमा र जानकी मन्दिरमा छुट्टा-छुट्टै मटकोर मनाइन्छ ।

जानकी मन्दिरबाट माता सीताको प्रतिकात्मक स्वरूपसँगै बाजागाजा र झाँकीसहित निस्किने डोला ऐतिहासिक गंगासागर पुगेर माटो खन्छ। वैदिक मन्त्रोच्चारण गरी विधिपूर्वक माटो जानकी मन्दिर लगेर वेदी तयार पार्छ ।

त्यही वेदीमा रामजानकी विवाह गर्ने परम्परा छ।राम मन्दिरका महन्थ लक्ष्मण गिरी भगवान रामको पक्षबाट र जानकी मन्दिरका सहमहन्थ रोषण दास वैष्णव सीताको पक्षको अभिभावकको भूमिका निर्वाह गर्छन् ।

यसअघि महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लिला, तेस्रो दिन धनुष यज्ञ र चौथो दिन तिल्कोत्सव कार्यक्रम सकिसकेको छ। सोमबार मनाइएको तिल्कोत्सवमा सीता पक्षबाट विभिन्न प्रकारको सौगात (भार) राम मन्दिरमा लगिएको थियो ।

महोत्सवको छैठो दिन बुधवार राम९सीता स्वयंवर तथा विवाह कार्यक्रम राखिएको छ । उक्त कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहभागी हुनेछन् ।

जनकपुरमा यतिबेला महोत्सवको रौनक देखिन्छ । नेपालका विभिन्न स्थान र भारतबाट हजारौं श्रद्धालु जनकपुर आइपुगेका छन् । सोमबार मध्यान्ह अयोध्याबाट हजारौंको संख्यामा घोडा रथ र सयौं सवारी साधन लिएर जन्ती आइपुगे ।

जन्तीलाई भव्य स्वागतपश्चात बास र खानाको व्यवस्था जानकी मन्दिरले गरेको छ।श्रद्धालु सुरक्षार्थ ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएका छन्।

प्रकाशित मिति: Dec 11, 2018

प्रतिक्रिया दिनुहोस्