Logo
५ जेष्ठ २०८१, शनिबार
(December 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पप्पुपछि अब कालिका कन्स्ट्रक्सनको पालो, संचालक एंव पाण्डेविरुद्ध मुद्दा दायर गर्ने तयारी

काठमाडौं : निकै पुरानो मध्येका एक निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन विरुद्ध सरकारले कार्वाहीको दायरामा ल्याई रहेकै बेला पुरानो मध्ये अर्को निर्माण कम्पनी कालिका कन्स्ट्रक्सन विरुद्ध पनि कार्वाही प्रक्रिया सुरु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ ।

सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सिटिसिई/कालिका जेभीका प्रमुख पाण्डेविरुद्ध मुद्दा दर्ताको तयारी गरेको हो ।

सिक्टामा भएको कामबाट सवा दुई अर्ब घाटा
अख्तियारले गरेको छानबिनमा सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा भएको गुणस्तरहीन कामले राज्यलाई दुई अर्ब १३ करोड घाटा भएको पाइएको थियो ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ४ बमोजिम ठेकेदार पाण्डे र सिटिसिई/कालिका जेभीका आधिकारिक प्रतिनिधि युवबहादुर क्षेत्रीबाट जनही ७८ करोड ४१ लाख ४१ हजार पाँच सय ९९ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गर्ने भएको छ ।

करिब ३५ किमी नहर कामै नलाग्ने गरी भत्कियो सिक्टा सिँचाइ आयोजनाको मूल नहर सुचारु नहुँदै परीक्षणकै क्रममा भत्किएको थियो । नहरको करिब ३५ किमि कामै नलाग्ने गरी भत्किएको थियो ।

नहर निर्माणमा गुणस्तरलाई ध्यान नदिएको आशंकामा अख्तियारले छानबिन गर्दा ठेकेदार कम्पनी, परामर्शदाता कम्पनी र आयोजना हेर्ने कर्मचारीहरूको संलग्नतामा गुणस्तरहीन काम भएको भेटिएको हो ।

अख्तियारले सिक्टा सिँचाइ आयोजनाका तत्कालीन आयोजना निर्देशक सरोजचन्द्र पण्डितविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गर्ने भएको छ ।

पण्डितले ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीसँग मिलेमतो गरी सिक्टा आयोजनाको मूल नहर गुणस्तरहीन निर्माण गर्ने काममा सघाएको अख्तियारको ठहर छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ३ बमोजिम कसुर गरेको ठहर गर्दै ५९ करोड ३४ लाख ५२ हजार बिगो मागदाबीसहित मुद्दा दायर गर्ने तयारी छ ।

प्रकाशित मिति: Dec 7, 2018

प्रतिक्रिया दिनुहोस्