Logo
७ जेष्ठ २०८१, सोमबार
(December 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री आफै धार्मिक द्वन्द्वको नाईके बने, संसदमा माफी माग्नुपर्छ : मीन विश्वकर्मा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले एशिया प्यासिफिक समिट आयोजनामा सरकारको संलग्नता हुनु नेपालको ईतिहाँसमा सबैभन्दा ठूलो दुर्घट्ना भएको टिप्पणी गरेका छन् । नितान्त धार्मिक आईएनजिओले गरेको कार्यक्रम र त्यसमा पनि क्रिश्चियनहरुभित्रै विवादित संस्था भएकोले उक्त संस्थालाई आम क्रिश्चियनहरुले पनि नपत्याएको उल्लेख गर्दै उनले भने,‘यो संस्थाले अकुत सम्पत्ति कमाएको र कर छली गरेकोले यसका संस्थापक जेल परेका थिए । उत्तर कोरिया र दक्षिण कोरियाबीच जासुसीको काम गरेकोले उनलाई प्रतिबन्ध लगाईएको थियो । यो संस्थाले धेरै पैसा उठाएको छ । यो पैसा कहाँबाट आउँछ ?’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘यो समिटको आयोजक संस्था र साझेदारी संस्थाप्रति हाम्रो सुरुदेखि नै असहमति थियो । अब त गम्भिर आपत्ति पनि छ ।’ उक्त संस्थाको आफ्नै ‘ग्लोबल गभर्मेन्ट’ रहेको पनि उनले सुनाए । उनले भने,‘यो संस्थासँग कार्यपालिका पनि छ । लेजिस्लेचरपनि छ । खाली जुडिसियल छैन् । नेपालमा यो सम्मेलन सम्पन्न भएसँगै कतै यसको ‘ग्लोबल–हेडक्वार्टर’ नेपालमा त छैन भन्ने आशंका लाग्न थालेको छ ।’

संस्थाका प्रमुखलाई उत्तर कोरिया, जापान र बेलायत जान प्रतिबन्ध गरिएको बताउँदै उनले उनकै कान्छी श्रीमती मुनलाई नेपालमा ल्याएर आर्शिवाद लिनु गलत भएको टिप्पणी गरे । उनले भने,‘नेपालको ईतिहाँसमा यो राजनैतिक र कुटनैतिक रुपमा अर्को ठूलो भुकम्प हो । विश्वभरि नेपालबारे अब सबैभन्दा कमजोर दृष्टिकोण भएको सरकार हो भनेर मेसेज गएको छ । हाम्रो प्रधानमन्त्री त चार रात प्रधानमन्त्री निवास छोडेर होटेलमा गएर बस्नुभयो । अरु देशमा मन्त्रीहरुपनि नजाने कार्यक्रममा हाम्रो देशका प्रधानमन्त्रीले त निवास नै छोडेर जानुभयो ।’

नेपालका हिन्दूहरुमा धार्मिक सहिष्णुता भएरमात्रै केही अप्रिय घट्ना नभएको नत्र सम्मेलनका पाहुनाहरु सोल्टी होटेल छिर्न पनि पाउँदैन थिए भन्दै उनले सुनाए । उनले भने,‘हिन्दूहरुमा धार्मिक सहिष्णुता नभएको सम्मेलनका पाहुनाहरु होटलमा छिर्नपनि पाउँदैन थिए । न त छिरेका मान्छेहरु बाहिर नै आउन पाउँथे ।’ डेढ महिना अघि मुलुकका विशिष्ट व्यक्तिहरुलाई घुँडा टेकाएर दशैंको टिका लगाईदिने अनि आज आएर तीनैले मुनसँग आर्शिवाद लिन आउन स्थानीय सरकार र प्रदेश सरकार प्रमुखहरुलाई पनि उर्दी जारी गर्नु हाँस्यस्पद भएको उनको टिप्पणी छ ।

अस्वस्थ भएर कार्यकर्तासमेत नभेटेका प्रधानमन्त्री ओलीले कुनै एक धर्म विशेषलाई प्रचार गर्न यत्रो ठूलो सक्रियता देखाएको भन्दै उनले कडा आक्रोश पोखे । उनले भने,‘हाम्रो देशका स्वयम् प्रधानमन्त्रीले संविधानको सिमा नाघ्नुभयो र १२ हात उफ्रिएर संसारकै राष्ट्रपति हुन्छुजस्तो गरेर यसरी यो कार्यक्रममा लाग्नुभयो ।’

प्रधानमन्त्री ओलीले गम्भिर गल्ती गरेको भन्दै उनले आफूहरु अहिले नै उनको राजिनामा माग्ने पक्षमा नभएपनि प्रधानमन्त्रीले सार्वभौम संसदमा सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताए । उनले भने,‘उहाँलाई सच्चिने समय छ । यस्तो विवादित कार्यक्रममा सरकारको संलग्नता हुनु आपत्तिजनक छ । हाम्रो यसप्रति सैद्धान्तिक रुपमा असहमति र घट्नाप्रति पूर्ण आपत्ति छ । प्रधानमन्त्रीको तहबाट क्रिश्चियन धर्मलाई उच्च सम्मान र हिन्दू धर्मलाई खिल्ली उडाउने काम भयो । उहाँले व्यक्तिगत रुपमा पाउनुहुन्छ । तर, सरकारको प्रमुख भएपछि यस्तो गलत काम गर्नुहुँदैन् । त्यो पनि राज्यकोषबाट पैसा खर्च गरेर ।’ आफूहरुले यसप्रति विधिसम्मत् ढंगले प्रतिवाद गर्ने पनि उनले जनाए ।

नेता विश्वकर्माले सरकारले नौटंकी र जोकर काम गरिरहेको पनि आरोप लगाए । निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण र ३३ केजी सुन प्रकरणलगायत हत्या, हिंसा र बलात्कारका घट्नामा सरकार पूर्ण रुपमा चुकेको पनि उनले आरोप लगाए । उनले भने,‘सरकार त अहिले अभियुक्त नजिक पुगिसकेपछि आँफै ब्याक हुन्छ । सरकारले अहिले आफ्नो मान्छेले चोरेको थाहा पाएपछि ‘खेद्नु तर नभेट्नु’ भनेजस्तो गरिरहेको छ । सरकार अहिले निर्मला पन्तको बलात्कारी खोज्दै खोज्दै जान्छ, फेरी आँफैकहाँ आईपुग्छ फुत्तै छोडिदिन्छ।’

देशलाई धार्मिक द्वन्द्वमा र भ्रष्टाचारमा चुर्लुम्मै डुबाउने, हत्या, हिंसामा चुर्लुम्म डुबिसकेको प्रधानमन्त्रीको फोटो सबै खम्बामा राख्नुपर्ने अनि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्याय माग्नको लागि उनको फोटो किन राख्न नपाउने ? भन्दै उनले प्रश्न गरे । उनले भने,‘यो सरकार आँफै हत्या, हिंसा, बलात्कार र अपराध, तस्करी, भ्रष्टाचार हुँदाहुँदै अब धार्मिक द्वन्द्वको पनि नाईके हुन थाल्यो।’ सरकारका गतिविधिप्रति आफ्नो पार्टीको गम्भिर भत्र्सना रहेको उनको भनाई छ ।

प्रकाशित मिति: Dec 4, 2018

प्रतिक्रिया दिनुहोस्