Logo
७ जेष्ठ २०८१, सोमबार
(December 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘अब समर्थन फिर्ता लिन्छौ, प्रधानमन्त्री आफैले क्रिश्चियन धर्म प्रचार गर्नतिर लागे’

काठमाडौँ : राजपा नेपालका सहअध्यक्ष तथा सचेतक लक्ष्मणलाल कर्णले अबको चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने दाबी गरेका छन्। काठमाडौँमा आयोजित कार्यक्रममा कर्णले सरकारलाई दिएको समर्थन जारी राख्नुको अर्थ नभएकाले फिर्ता लिने बताएका हुन्। उनले भने, ‘अब यो सरकारलाई समर्थन जारी राख्नुपर्ने कुनै औचित्य छैन, हाम्रो पार्टीको अब बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय लिन्छ।’

राजपाले संविधान संशोधनका लागि छठपछि सम्मको अल्टिमेटम दिएको थियो। उनले संविधान संशोधन र आन्दोलनका बेला पार्टीका नेता तथा कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता गराउन सरकारलाई समर्थन गरे पनि प्रतिवद्धता अनुसार काम नगरेको बताए।

उनले भने, ‘सरकारले कुनै पनि गतिलो काम गर्न सकेको छैन, स्थानीय सरकारमा अहिले विकास रकमको चरम दुरुपयोग भएको छ, वास्तवमा भन्ने हो भने यो सरकारले राम्रो काम केही पनि गर्न सकेको छैन।’ कर्णले चार महिना अघि भएको निर्मला पन्तको बलात्कारपछिको हत्याबारे छानबिन गर्न सरकार असफल भएको बताएका छन्।

‘यो कसको कमजोरी हो? एउटा बच्चा बलात्कृत हुन्छ, त्यसलाई मारिन्छ, र त्यसको दोषी को हो भन्ने पत्तै लाग्दैन, अनि यो भन्दा निकम्मा सरकार अरु को होला?,’ कर्णले भने।

कर्णले प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिश्चियन धर्म प्रचार गर्नका लागि नै योगदान पुर्याएको आरोप लगाए। उनले भने, ‘यदि प्रधानमन्त्री वा अरुले बरु क्रिश्यिचन धर्म नै कबुल गरेको भए मलाई केही पनि भन्नु थिएन, तर देशको सरकार प्रमुखले नै एउटा धर्मको निमित्त खर्च गर्ने र प्रचार गर्ने यो बिल्कुल गलत काम भयो।’

प्रकाशित मिति: Dec 4, 2018

प्रतिक्रिया दिनुहोस्