Logo
७ जेष्ठ २०८१, सोमबार
(December 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन प्रणाली र पदाधिकारी संख्याबारे काङ्ग्रेसमा बहस, मङ्सिर २८ देखि महासमिति बैठक

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याका बारेमा छलफल जारी छ । यही मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तावित विधानको मस्यौदामाथिको छलफलका क्रममा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी रहेको छ ।

सोमबारसम्म ३१ केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसक्नुभएको पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभयो । काङ्ग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ ।

विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले मङ्सिर ९ गतेको बैठकमा उक्त मस्यौदा पेश गर्नुभएको थियो । मस्यौदामाथिको छलफलमा अधिकांश केन्द्रीय सदस्यले पार्टीमा गुट उपगुट अन्त्य गर्न बहुपदमा एकल सङ्क्रमणीय निर्वाचन प्रणालीमा जानुपर्ने सुझाव दिनुभएको छ ।

बैठकमा हालको पदाधिकारी संख्या यथावत राख्नुपर्ने र केन्द्रीय कार्यसमितिको आकार बढेसँगै पदाधिकारीको सङ्ख्या पनि बढाउनुपर्नेमा छलफल जारी छ ।

संस्थापन पक्ष हालको पदाधिकारी संख्या यथावत राख्नुपर्नेमा पक्षमा देखिन्छ । संस्थापन ईतर पक्ष भने केन्द्रीय कार्यसमितिको आकार बढेसँगै पदाधिकारीको सङ्ख्या पनि बढाउनुपर्ने र सबै पदाधिकारीको निर्वाचन हुनुपर्ने पक्षमा छ ।

प्रस्तावित विधानमस्यौदमा पदाधिकारी संख्या र निर्वाचन सम्बन्धी फरक मतलाई पनि उल्लेख गरी केन्द्रीय समितिमा पेश गरिएको छ । प्रस्तुत मस्यौदामा पदाधिकारीको सङ्ख्या र निर्वाचन प्रक्रिया हालको विधानअनुसार नै रहने व्यवस्था गरिएको छ ।

कार्यसमितिको सङ्ख्या भने बढाएर १४१ हुने प्रावधान राखिएको छ । हाल ८५ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको काङ्ग्रेसमा एक सभापति एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित हुने तथा एक उपसभापति एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने व्यवस्था छ ।

छलफलमा केन्द्रीय सदस्यहरुले सहमहामन्त्रीको सङ्ख्या बढाउनुपर्ने, काम गर्न सहज बनाउनका लागि सभापति अधिकार सम्पन्न हुनुपर्ने, क्रियाशील सदस्यको प्रावधान यथावत् राख्नुपर्नेलगायतका सुझाव दिनुभएको छ ।

केन्द्रीय समितिले पारित गरेपछि विधान मस्यौदा पार्टीको महासमिति बैठकमा पेश हुने छ । काङ्ग्रेसको महासमिति बैठक आगामी मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुदैछ ।

प्रकाशित मिति: Dec 4, 2018

प्रतिक्रिया दिनुहोस्