सिन्धुली सडक पुन : निर्माणका लागि जापानले दियो एक अर्ब ८ करोड रुपैयाँ आर्थिक सहयाेग
काठमाडौं : जापान सरकारले सिन्धुली सडक पुनः निर्माणको लागि थप एक अर्ब ८ करोड ५० लाख रुपैयाँ आर्थिक सहायता नेपाललाई उपलब्ध गरेको छ । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुर्याएको सिन्धुली सडक पुनःनिर्माण गर्न जापानले उक्त सहयोग नेपाललाई उपलब्ध गराएको हो ।
सिन्धुली सडक पुनःनिर्माणको लागि थप आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा जापानको तर्फबाट नेपालको लागि जापानका राजदूत मासामिची साइगो र नेपालको तर्फबाट अर्थ मन्त्रालयका सचिव राजन कणेलले बिहीबार हस्ताक्षर गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच सम्झौतामा हस्ताक्षर भएको काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ ।
आर्थिक सहायता कार्यन्वयन सम्बन्धी अर्को सम्झौतामा पनि बिहीबारनै जापान र नेपालका पदाधिकारीबीच हस्ताक्षर भएको छ । उक्त सम्झौतामा जाईका नेपालका प्रमुख प्रतिनिधि जुन साकुमा र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता तथा समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गरेका थिए ।
हस्ताक्षर समारोहमा नेपालका लागि जापानका राजदूत साइगोले १६० किलोमिटर लामो सिन्धुली सडकले काठमाडौंलाई मध्य र पूर्वी तराईसँग जोड्ने बताए । जापानी सहयोगमा नेपालमा सञ्चालित परियोजना मध्ये सिन्धुली सडक परियोजना ठूलो परियोजना भएको जनाउँदै उनले यो परियोजनालाई पूर्णता पाउन २० वर्ष लागेको बताए ।
जापानको सहयोगमा निर्माण भएको सिन्धुली सडक २०७२ सालमा आएको भूकम्पले भत्काएको थियो । भूकम्पले सिन्धुली सडकको २० वटा सेक्सनमा क्षति पुर्याएको थियो । जापानले भूकम्पले क्षति पुर्याएको सबै सडकको पुनःनिर्माण गर्न आर्थिक सहायता उपलब्ध गरेको हो । राजदूत साइगोले नेपाल सरकारको अनुरोधअनुसार आर्थिक सहायता उपलब्ध गराइएको हो । सडको पुनःनिर्माणमा जापानी प्रविधि प्रयोग गरिने जनाइएको छ ।
“सिन्धुली सडकले सार्वजनिक सेवा, विद्यालय र अस्पतालमा नागरिकको पहुँच बढाउन सहयोग मिल्ने आशा हामीले लिएका छौं,” काठमाडौंस्थित जापानी दूतावासद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ, “यसले कृषि, निर्माण, पर्यटनलगायतका उद्योगको प्रवद्र्धनमा समेत सघाउने छ ।” पुनःनिर्माण गर्दा सडकलाई बढीभन्दा बढी सुरक्षित बनाईने बताइएको छ । सिन्धुली सडक पुनःनिर्माणलाई उपलब्ध गराइएको थप आर्थिक सहायताले नेपाल र जापानबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास विज्ञप्तिमा उल्लेख छ ।