Logo
१५ चैत्र २०८०, बिहीबार
(October 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एशिया कप छनोट : नेपालबाट भुटान पराजित

काठमाडौँ : मलेसियामा जारी आइसिसी विश्व टी ट्वान्टी एशिया छनोट समूह ‘बी’अन्तर्गतको खेलमा नेपाल आज भुटानलाई पराजित गर्दै विजयी भएको छ ।

मलेसियाको युकेएम वाइएसडी ओभल मैदानमा भएको खेलमा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार चौथो जीत दर्ता गराएको छ । यसअघि नेपालले म्यानमा र मलेसियालाई आठ आठ विकेट तथा थाइल्याण्डलाई १४० रनले पराजित गरेको थियो ।

जीतसँगै अङ्कतालिकाको शीर्ष स्थानमा रहेको नेपालले एशिया छनोटको दोस्रो चरण पक्का गरेको छ । नेपालले चार खेलबाट आठ अङ्क जोडेको छ । छनोटबाट शीर्ष तीन टोलीले एशिया छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । त्यस्तै एशिया छनोटबाट शीर्ष दुई टोलीले सन् २०२० मा अष्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकपमा स्थान बनाउनेछन् ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले भुटानलाई १५१ रनको लक्ष्य दिएको थियो । जवाफमा भुटान १६ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३३ रनमा सीमित भयो ।

भुटानका लागि तेञ्जिङ वाङ्चुक जुनियरले सर्वाधिक ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् । त्यस्तै सञ्जीवन गुरुङले ६ तथा रमेश गुरुङले ४ रन जोडे ।

नेपालका ललितनारायण राजवंशी र सन्दीप लामिछानेले ३–३ विकेट लिए भने वसन्त रेग्मीले दुई तथा दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले १–१ विकेट झारे ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १५० रनको योगफल बनाएको थियो । नेपालका लागि प्रदीप ऐरीले सर्वाधिक ७५ रनको योगदान दिए । त्यस्तै अनिलकुमार साहले २७, दीपेन्द्रसिंह ऐरीले १५, आरिफ शेखले १३ तथा करण केसीले ११ रनको योगदान दिए । भुटानका जिग्मी सिङ्गे, सञ्जीवन गुरुङ, थिन्ले र रमेश गुरुङले १–१ विकेट लिए । नेपालले बुधबार चीनसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: Oct 9, 2018

प्रतिक्रिया दिनुहोस्