विदेशमा बस्ने नेपालीलाई पनि मताधिकारका लागि आयोगले थाल्यो तयारी
काठमाण्डौ : अब विदेशमा बस्ने नेपालीले पनि मतदान गर्न पाउने विषय बहसमा आएको छ । सर्वोच्च अदालतले विदेशमा बस्ने नेपालीलाई मतदानको व्यवस्था गर्न आदेश जारी गरेसँगै निर्वाचन आयोगले प्रक्रिया पनि अगाडि बढाएको छ । सर्वोच्च अदालतले गत चैतमै गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने विषयले अहिले थप चर्चा पाए संगै कार्यान्वयन सूरु भएको हो ।
संविधानले प्रत्येक वालिग नागरिकको मताधिकार प्रयोगको हक सुनिश्चित गरेको सन्दर्भमा अब अदालतको समेत आदेश आइसकेपछि विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको प्रबन्ध मिलाउनुपर्ने दायित्व सरकारको काँधमा आएको छ । अब यो व्यवस्था कार्यान्वयन गर्न निर्वाचन आयोग लागेको हो । लामो समयदेखि विदेशमा बस्ने नेपालीलाई मताधिकारको व्यवस्था गर्नेबारे छलफल भएता पनि धेरै कारणले गर्दा प्रकृया अगाडि बढ्न सकेको थिएन ।
यो व्यवस्था लागू भएपनि विदेश भएका सबै नेपालीले मतदान गर्न भने नपाउने आयोगका प्रवक्ता दिपक सुवेदीले बताए । मतदान गर्नको लागि विदेशमा बसेको भएता पनि नेपाली नागरिकता नत्यागेको र अरु कुनै पनि देशको नागरिकता नलिएको हुनुपर्ने सर्वोच्चले जनाएको छ । सर्वोच्चको आदेशअनुसार सरकारसँग छलफल गरेर उपयुक्त विकल्प निर्धारण गर्ने आयोगका प्रवक्ता सुवेदी बताउँछन् ।
अहिले नेपालबाट करिब ४० लाख नेपाली विदेशिएका छन । विदेशबाट मतदान गर्न नपाउदा उनीहरु अहिलेसम्म आफ्नो मताधिकारबाट बन्चित भएका थिए । अब भने उनीहरुले आफ्नो मताधिकार प्रयोग गर्न पाउने भएका छन । निर्वाचनका जानकारहरू विदेशमा मतदानको व्यवस्था मिलाउन आवश्यक भए पनि सहज नभएको बताउँछन् । निर्वाचनको सुरक्षा प्रबन्ध, निर्वाचन व्यवस्थापन, अनुगमन, मतदान केन्द्र संख्या निर्धारण, वैदेशिक रोजगारीमा रहेका नेपालीको पहुँच, पारदर्शिता, निश्पक्षता जस्ता विषय चुनौतिका रुपमा रहेका छन् ।