जनकपुरको सडकमा गाई पालेर दुध खानेहरु सावधान : शुरुभयो विषेश विशेष अभियान
जनकपुरधाम : सडकमा आतंक मच्चाउने खुल्ला छाडाचौपाया नियन्त्रण अभियान शुरु गरिएको छ । लामो रस्साकसी पश्चात जनकपुरधाम उपमहानगरपालिका र ट्राफिक प्रहरी कार्यालय धनुषाको समन्वयमा अभियान शुरु गरिएको हो । सोमबार पहिलोदिन नै २ वटागधा सहित २० वटा गाईवस्तु नियन्त्रणमा लिइएको छ ।
जनकपुरको एयरपोर्टदेखि शिवचोकसम्मको सडमा जथाभावी छाडिएको घरपालुवा पशु १५ वटा गाई, ३ वटा भैँसी र २ वटा गधा गरी २० वटा गाईवस्तुलाई नियन्त्रणमा लिइएको धनुषाका ट्राफिक प्रहरी प्रमुख दीपककुमार साहले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएको गाईवस्तुलाई जनकपुरधाम उपमहानगरपालिका कार्यालय परिसर भित्र रहेको काञ्जीहाउसमा राखिएको छ ।
ट्राफिक प्रहरी, नगर प्रहरी र शिविल ड्रेसका प्रहरीले संयुक्त रुपमा राति राति छाडाचौपाया नियन्त्रण अभियान थालिएको उहाँले बताउनुभयो । यसअघि सडकमा पशुधनीले जथाभावी छाडिएको घरपालुवा गाईवस्तु आफ्नो घरमा बाँधेर राख्न नगरपालिका र ट्राफिक प्रहरीले सूचना जारी गरेको थियो ।
तर लापरवाह पशुधनीहरुले नमानेपछि छाडाचौपाया नियन्त्रण अभियान नै थालिएको छ । नियन्त्रणमा रहेको पशु तीनदिन भित्र ५ हजार जरिवाना तिरेर आयिन्दा गाईवस्तु सडकमा नछाड्ने सर्तको कागजात बनाएर पशुधनीले लग्न सक्नेछन् । तर तीनदिन भित्र नियन्त्रणमा लिइएको पशु नलगेमा जकपुरभन्दा बाहिर चरीचरण क्षेत्रमा लगेर छाडिने ट्राफिक प्रहरी प्रमुख साहले बताउनुभयो ।
पछिल्लो समय जनकपुरमा पशुधनीले जनकपुरके सडकमा जथाभावी छाडेर गाईवस्तु पाल्ने परिपार्टी बढेको छ । गाई पाल्ने र साँझ विहान दुध दुहेर खाई पुनः सडकमै छाड्ने गरेका छन् । गाई,वाछावाछी र सुँगुर सडकमै पाल्नथालेपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । जसको कारण सर्वसाधारणले सास्ती पाउने गरेका छन् भने पटक पटक सडक दुर्घटना भएर जनधनको क्षति समेत हुनेगरेको छ ।