Logo
१३ बैशाख २०८१, बिहीबार
(July 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा एक करोड लागतमा खानेपानी आयोजना निर्माण

रत्ननगर : पूर्वी चितवनको कालिका नगरपालिका–१ गडुवामा रु एक करोड लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ ।

पोखरास्थित गोर्खा वेल्फेयर ट्रष्ट, ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा खानेपानी आयोजना निर्माण भएको हो ।

मिटर प्रणालीमा धारासहितको खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीयवासी हर्षित भएका छन् । बिहीबारमात्रै उक्त खानेपानी आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गरिएको गडुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव चेतकुमार सुनारले जानकारी दिए ।

उहाँका अनुसार खानेपानी आयोजनाको गतसाल कात्तिकबाट निर्माण शुरु भएको थियो । आयोजनाबाट यहाँ १५८ घरमा मिटर प्रणालीको धारा जडान भएको छ ।

डिप बोरिङ गरी पानी निकालिएको आयोजनाको ३० घनमिटरको ‘ओभरहेड रिजर्भ ट्याङ्की’ रहेको छ । आयोजनामा कूल नौ हजार २३४ मिटर लामो पाइप बिच्छ्याइएको छ ।

आयोजनाको कूल लागत रु एक करोड एक लाख ५२ हजारमध्ये सहयोगी संस्थाबाट रु ८५ लाख ८६ हजार र स्थानीय समुदायको तर्फबाट रु १५ लाख ६६ हजार लागत लागेको आयोजनाले जनाएको छ ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष लीलाबहादुर केसीले स्थानीय समुदायले शुद्ध खानेपानी पिउन पाउने भएपछि खुशी व्यक्त गरे । निकट भविश्यमै यहाँको लंकालाइन र सूर्यपुरमा समेत खानेपानी आयोजना निर्माण हुने जनाइएको छ ।

कालिका नगरपालिका–१ का वडाध्यक्ष लीलाबहादुर गुरुङले स्थानीय समुदायका लागि खानेपानी आयोजना महत्वपूर्ण उपलब्धि भएको बताए ।

प्रकाशित मिति: Jul 20, 2018

प्रतिक्रिया दिनुहोस्