Logo
८ बैशाख २०८१, शनिबार
(July 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टिपर दुर्घटनामा परी ज्यान गुमाएका टुहुरा नाबालकलाई सहयोग

पोखरा : मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३, स्याङ्बोचेमा असार २२ गते शुक्रबार भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका मौसम घर्तीमगर र जीतमाया घर्तीमगरका नाबालक छोरालाई सोमबार लायन्स क्लब अफ पोखरा डायमन्ड भिलेजले रु २० हजार १० आर्थिक सहयोग उपलब्ध गराएको छ ।

रोल्पाको थवाङ गाउँपालिका–१, फुर्तीवाङ स्थायी बसोबास भई कामको सिलसिलामा मुस्ताङ पुगेका घर्तीमगर दम्पतीको मृत्यु भए पछि पोखराको नयाँबजारस्थित भाडाको कोठामा बस्दै आएका छोरा १२ वर्षीय विवश र ६ वर्षीय विशेषनलाई कोठामा नै पुगी क्लबका तर्फबाट अध्यक्ष पवित्रा न्यौपानेले उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो ।

महिला मात्रको सो क्लबले एकआपसमा संकलन गरी जुटाएको उक्त रकम सहयोग गरिएको क्लबका संस्थापक अध्यक्ष एवं कार्यक्रम संयोजक कञ्चन थापाले जानकारी दिए ।

लायन्सले आपत्विपत्मा परेका सर्वसाधारणलाई सहयोग गर्दै सामाजिक सेवामा समर्पित रहँदै आएको बताउँदै लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट बी १ का क्षेत्रीय अध्यक्ष शिवराज आचार्यले नाबालकका लागि गरिएको सहयोग सराहनीय भएको बताए ।

नाबालकका लागि गरिएको सहयोगप्रति रोल्पा—पोखरा सम्पर्क समाजका सल्लाहकार आशमान रोक्काले आभार व्यक्त गर्दै नाबालकद्वयको भविष्यप्रति सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए ।

हस्तान्तरण समारोहमा क्लबका उपाध्यक्ष पद्मा शर्मा, सचिव लक्ष्मी न्यौपाने, कोषाध्यक्ष कविता गुरुङलगायत क्लबका पदाधिकारी एवं सदस्यको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Jul 17, 2018

प्रतिक्रिया दिनुहोस्