Logo
१५ चैत्र २०८०, बिहीबार
(July 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्धन चुहावट रोक्न साउन पहिलो साताबाट ट्याङ्करहरुमा लकिङ्ग सिस्टम

विराटनगर : भारतबाट इन्धन आयात गर्दा हुने चुहावट नियन्त्रण गर्न साउन पहिलो साताबाट सम्पूर्ण ट्याङ्करहरुमा लकिङ्ग सिस्टम लगाइने भएको छ । नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरले साउन पहिलो साताबाट ट्याङ्करहरुमा लकिङ्ग सिस्टमलाई पूर्ण कार्यान्वयन गर्ने भएको हो ।

क्षेत्रीय कार्यालयले भारतीय आयल निगमको सिलीगुडी र बरौनी डिपोबाट ट्याङ्करमार्फत इन्धन आयात गर्दै आएको छ । सो क्रममा इन्धन चुहावट हुने गरेको छ । मौसमी अनुकुलता (टेम्प्रेचर)को आधारमा ढुवानीकर्तालाई प्रति २० हजार लिटरमा २० लिटरसम्म छुट दिने गरिएको छ । सिक्योरिटी लकिङ्ग सिस्टम लागु भएपछि भारतमा इन्धन लोड गर्ने ठाउँमै ट्याङ्करहरुमा ताला लगाइने र सो ताला नेपालस्थित नेपाल आयल निगमको डिपोमै खोल्नेगरी व्यवस्थापन गरिएको छ ।

हाल सिलिगुडीबाट चारआली, विर्तामोड डिपोसम्म इन्धन ओसार्ने सम्पूर्ण ट्याङ्करहरुमा सेक्योरिटी लकिङ्ग सिस्टम लगाइसकिएको छ । क्षेत्रीय डिपो विराटनगरका लागि इन्धन ओसार्ने ३ सय ५० ट्याङ्करहरुमध्ये ९० प्रतिशतमा लकिङ्ग सिस्टम लगाइसकिएको र बाँकी १० प्रतिशतमा पनि छिट्टै सिस्टम लगाइने निगमका क्षेत्रीय प्रमुख भानुभक्त खनालले जानकारी दिए ।

आउँदो साउनको पहिलो सातादेखि लकिङ्ग सिस्टमलाई पूर्णरुपमा कार्यान्वय गराइने उनले जानकारी दिए । लकिङ्ग सिस्टम पूर्णरुपमा लागू भएपछि आयल निगम र ढुवानीकर्तामाथि लाग्ने गरेको इन्धन चोरीको आरोप अन्त्य हुने उनको भनाइ छ । निगमको क्षेत्रीय डिपो विराटनगरले भारतको बरौनीबाट ९० प्रतिशत इन्धन आयात गर्ने गरेको छ ।

क्षेत्रीय डिपोमा बार्षिक २ लाख ४० हजार केएल डिजल र ६६ हजार केएल पेट्रोल आयात गर्ने गरिएको जनाइएको छ ।

प्रकाशित मिति: Jul 13, 2018

प्रतिक्रिया दिनुहोस्