Logo
१३ बैशाख २०८१, बिहीबार
(July 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वसन्तपुरको नौतले दरबारका काष्ठकलाको कार्य राष्ट्रिय संग्रहालयमा

काठमाडौँ : विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा रहेको नौतले दरबारको मर्मतका लागि आवश्यक काष्ठकलाको कार्य छाउनीस्थित राष्ट्रिय संग्रहालयमा भइरहेको छ । पुराना बिग्रिएका काठलाई मर्मत तथा पुराना कलाकृतिको संरचनाका काष्ठकला कुद्नेलगायत काम त्यहाँ हुने गरेको छ ।

विसं २०७२ वैशाख १२ मा आएको भूकम्प तथा त्यसपछि परकम्पका कारण सो दरबारमा ठूलो क्षति भई जोखिममा परेपछि उक्त सम्पदा जीर्णोद्धारका क्रममा रहेको छ । चीन सरकारको सहयोगमा करीब छ महिनादेखि विज्ञहरुको समूहले पुराना काष्ठकलाको अध्ययन तथा अनुसन्धान गर्दै बुट्टाको संग्रह गरिएको संग्रहालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए ।

आधुनिक नेपाल एकीकरण हुनुभन्दा अगाडि विशिष्ट कला र शीपले निर्माण गरिएको उक्त सम्पदाको विभिन्न भागमा चिरा परेर भत्किने स्थितिमा पुगेको थियो । पुरातत्व विभाग, हनुमानढोका दरबार संग्रहालय विकास समितिलगायतले शुरु गरेको जीर्णोद्धारमा त्यस सम्पदाको प्राचीन स्वरुपमा परिवर्तन नहुने गरी केही अत्याधुनिक निर्माण वस्तुको समेत प्रयोग गरिने भएको छ ।

उक्त सम्पदाका काठका सम्पूर्ण सामग्री तथा त्यसका स–साना टुक्रालाई समेत पुरातात्विक महत्वको सामग्रीका रुपमा विकास गर्नका लागि संग्रहालयभित्र रहेको त्यस क्षेत्रलाई विशेष संरक्षण तथा सुरक्षित गरिएको छ । उक्त स्थानबाट निर्माण हुने नयाँ काष्ठकलाका संरचनालाई पछि दरबारमा प्रयोग गरिनेछ भने पुराना काठका टुक्रालाई पुरातात्विक महत्वको सामग्रीका रुपमा प्रदर्शनमा राखिने छ । (रासस)

प्रकाशित मिति: Jul 4, 2018

प्रतिक्रिया दिनुहोस्