Logo
१७ बैशाख २०८१, सोमबार
(June 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुवास नेम्वाङ भन्छन् ‘सभामुख र उपसभामुख फेर्न आवश्यक छैन, उनीहरु दलविहिन भइसके’

काठमाण्डौ १२ असार : नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उप नेता सुवास नेम्वाङले सभामुख र उपसभामुखको चुनाव हुँदा दलमार्फत नै उम्मेदवार बनेपनि अहिले दलसँगको सम्बन्धबाट टाढा भइसकेकाले परिवर्तन गर्नु नपर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै नेम्वाङले सभामुख र उपसभामुखले पार्टीबाट राजिनामा गरिसकेकाले विवाद गर्न नहुने बताए । प्रतिनिधिसभाको सभामुखमा तत्कालिन माओवादीबाट कृष्णबहादुर महरा र उपसभामुख पदमा तत्कालिन एमालेबाट शिवमाया तुम्बाहाम्फे विजयी भएकी थिइन् ।

त्यस्तै राष्ट्रियसभाको अध्यक्षमा तत्कालिन एमालेकातर्फबाट गणेश तिमिल्सिना र उपाध्यक्षमा तत्कालिन माओवादीबाट शशीकला दाहाल चुनिएकी थिइन् । अहिले एमाले र माओवादी मिलेर नकपा गठन भएपछि दुवै सदनका चारैजना एउटै दलबाट छन् ।

यता, प्रतिनिधि सभा र प्रदेश सभाका सभामुख र उपसभामुख फरक-फरक राजनीतिक दलका हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको एक महिना भएको छ । अधिवक्ता अच्युत खरेलले अहिले प्रतिनिधि सभा र प्रदेश सभामा एउटै पार्टीको सभामुख र उपसभामुख भएकाले त्यो संविधान विपरीत भएकाले पुनः निर्वाचन गरेर फरक फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने माग राख्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दर्ता गराएका थिए ।

प्रतिनिधीसभा र राष्ट्रियसभामा सभामुख र उपसभामुख एउटै दलको भएको भन्दै कांग्रेसले पनि विरोध गरिरहेको छ ।संविधानले दुईवटा पद फरक-फरक दलबाट हुनुपर्ने व्याख्या गरेकाले सोहीअनुसार गर्न कांग्रेसले माग गरिरहेको छ । तर सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टीले भने दुवै सदनका सभामुख र उपसभामुखले दलबाट राजिनामा दिइसकेकाले एउटै दलबाट बनाइएको भन्ने कुरा गलत भएको तर्क गरेको छ ।

खरेलले दायर गरिएको रिटमा प्रतिनिधि सभा र कर्णाली प्रदेशसहित १, ३, ४, ५ र ७ नं प्रदेशमा फरक फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने माग गरिएको छ । नेपालको संविधानको धारा, ९१ को उपधारा (२) को (१)मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने र सभामुख वा उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने उल्लेख छ ।

यस्तै नेपालको संविधानको धारा, १८२ को उपधारा (२) को (१) मा प्रदेश सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने र सभामुख वा उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने उल्लेख छ । रिट निवेदनमा फरक-फरक लिङ्गको सभामुख र उपसभामुख हुनुपर्नेसमेत माग गरिएको छ ।

प्रकाशित मिति: Jun 26, 2018

प्रतिक्रिया दिनुहोस्