Logo
१५ चैत्र २०८०, बिहीबार
(June 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वक्रिकेटर तथा राजनीतिकर्मी इमरानकी पूर्वपत्नीले मच्चाइन् खलबली

पाकिस्तानी पूर्वक्रिकेटर तथा राजनीतिकर्मी इमरान खानकी पूर्वपत्नीले प्रकाशित गर्न लागेको आत्मकथाको एक पुस्तकले पाकिस्तानमा ठूलो खलबली मच्चाएको छ । आत्मकथा प्रकाशित हुनुअघि नै रेहमको ज्यान लिइने धम्की दिइएपछि पुस्तक प्रकाशनअघि नै चासो र चर्चाको विषय बन्न पुगेको छ ।

उक्त आत्मकथामा रेहमले आफ्ना पूर्वपति एवम् पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) नामक पार्टीका अध्यक्ष इमरान खानबारे अहिलेसम्म सार्वजनिक नभएका थुप्रै सन्दर्भ समेटेको बताइन्छ । रेहमको सो आत्मकथा यस्तो बेला प्रकाशित हुन लागिरहेको छ जतिबेला पाकिस्तानमा आमचुनाव हुन गइरहेको छ ।

प्रकाशोन्मुख पुस्तकबारे रेहम खानले लन्डनमा दिएको अन्तर्वार्तामा भनेकी छिन्, ‘आत्मकथा लेखेर प्रकाशित गर्न लागेकोमा मलाई हत्याको धम्की दिइएको छ । यस विषयसँग जोडेर मलाई बदनाम तुल्याइने चेतावनी पनि दिइएको छ । यो अत्यन्त निराशादायी कुरा भए पनि म आशावादी नै छु । अब जे–जस्ता कुरा गरेर बदनाम गर्न खोजिए पनि म निच हुनेछैन ।’

रेहमले आत्मकथा प्रकाशित गर्न लागेको खुलासा केही समयअघि मात्रै गरेकी थिइन् । स्वाभाविक रूपले आत्मकथामा इमरान खानसँग सम्बन्धित कुराहरूले प्रमुखता पाउने अन्दाज जो–कसैले लगाउन सक्छ । रेहम स्वयम्ले पनि यस्तै बताएकी छिन् । आफ्नो आत्मकथा प्रकाशित भएपछि संसारले इमरानको असली रूप चिन्ने र उनको राजनीतिक जीवन नै तहसनहस हुनेसमेत रेहमको दाबी छ ।

तत्काल हुन गइरहेको पाकिस्तानी आमचुनावमा इमरानको पार्टीको हविगत शर्मनाक हुने पनि उनको भनाइ छ । रेहमको दाबीअनुसार यसरी पुस्तकबारे खुलासा गरिएपछि उनीमाथि हत्याको धम्की आउन थालेको हो । रेहमको प्रकाशोन्मुख आत्मकथाको एकथरीले निकै आलोचना गरेका छन् ।

यस सन्दर्भमा रेहम भन्छिन्, ‘प्रकाशित हुनुअघि नै लिक भएकोले मेरो पुस्तकको आलोचना भएको होइन, बरु यसमा समेटिएको एकसेएक सत्य–तथ्य विवरणका कारण यसलाई आलोचनाको सिकार बनाउन खोजिँदै छ ।’ पेसाले पत्रकारसमेत रहेकी रेहमले आफ्नो पुस्तकमा यथार्थ घटनालाई ज्वलन्त रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै सत्य स्वीकार गर्न डराउनेहरूले आफूलाई भयानक धम्की दिए पनि आफू विचलित नहुने बताएकी छिन् ।

आफ्नो जिन्दगी खुला किताबजस्तै भएकोले अब कुनै कुरा या कसैसँग पनि डर नमान्ने उनको भनाइ छ । ज्ञात रहोस्, आत्मकथाको सन्दर्भसँग जोडेर रेहमले पाकिस्तानका पूर्वतानाशाह परवेज मुसर्रफमाथि पनि प्रहार गरेकी छिन् । उनले भनेकी छिन्, ‘मुसर्रफले ट्विटमार्फत महिलाले यस्ता अभिव्यक्ति दिन नहुने बताएका रहेछन् ।

महिलाले के बोल्ने र के नबोल्ने भनी तय गर्ने मुसर्रफ को हुन् ? मैले त समाजको बन्धन तोडेकी हुँ । यसैलाई कारण बनाएर मेरो हत्या गर्ने धम्की दिन थालिएको छ । तर, म मुसर्रफजस्ता व्यक्तिमाथि होइन अल्लाहप्रति मात्र जजवाफदेही छु ।’

प्रकाशित मिति: Jun 22, 2018

प्रतिक्रिया दिनुहोस्