Logo
२४ बैशाख २०८१, सोमबार
(June 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हजारौंलाई पुनर्जन्म दिएका चिकित्सक देवकोटाको आज अत्येष्टि गरिँदै

काठमाडौँ : हजारौँ बिरामीलाई पुनर्जन्म दिनुभएका एक चिकित्सकले क्यान्सरसँगको छ महिना लामो लडाइँपछि मृत्युवरण गर्नुभयो ।

पुष्पगुच्छाले झपक्क सजाइएको टेबल । त्यसमाथि ढाका टोपी पहिरिएर शान्त चिर निद्रामा निदाइरहेका एशियाकै अब्बल स्नायु चिकित्सक विशेषज्ञ डा देवकोटा । नेपाल मात्र होइन दक्षिण एशियामै ख्याति कमाउनुभएका डा उपेन्द्र देवकाटाले सोमबार अन्तिम सास फेर्नुभयो ।

बाँसबारीस्थित आफ्नै न्यूरो अस्पतालको प्राङ्गणमा राखिएको उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन शोकाकुल शुभचिन्तकको घुइँचो थामिसक्नु थिएन । नियतिको खेल पनि बुझिनसक्नु हुन्छ । चिकित्सकीय क्षेत्रमा दुर्लभ विधा मानिएको स्नायु उपचार सेवाका प्रतिभावान् चिकित्सकलाई रोग त त्यो पनि दुर्भल पित्त नलीको क्यान्सर ।

छ महिनाअघि रोग देखिएपछि परिवारले उहाँलाई अब्बल बनाएको देश बेलायत पु¥याएको थियो । तर, जीवनका अन्तिम दिनहरु नजिकिएको पूर्व जानकारी पाइसकेका डा देवकोटा अन्तिम सास स्वेदशकै माटोमा फेर्न चाहनुहुन्थ्यो । गत वैशाख १५ गते पुनः स्वदेश ल्याइएपछि उहाँलाई आफ्नै अस्पतालमा उपचारका लागि राखिएको थियो ।

उहाँको जीवन फर्काउन दिनरात खटिएका उहाँका शिक्षार्थी न्यूरो अस्पतालका चिकित्सक डा मयुस मुनंकर्मीले डा देवकोटा आफैँ बिरामी र आफैँ चिकित्सकको भूमिका निर्वाह गरेको सम्झनुहुन्छ । “आफूलाई के भइरहेको छ, के चाहिएको छ उहाँले नै भन्नुहुन्थ्यो, उहाँमा मृत्युले कुरिरहेको छ भन्ने जान्दाजान्दै पनि अनौठो आत्मविश्वास थियो, जुन हाम्रा लागि अनुकरणीय थियो”, उहाँले भन्नुभयो ।

“बिरामीप्रतिको लगाव, आफ्ना अग्रज, सहपाठी, जुनियर चिकित्सकलाई सधैँ माया, सम्मान गर्ने कुरा हामीले उहाँबाट सिक्यौँ,” डा मुनंकर्मी भन्नुहुन्छ । जीवन यात्रामा अनेक साथी भेटिन्छन् । कोही आत्मीय बन्छन् । कोही बीचमै हराउँछन् । तर बालसखा जीवनभरि उस्तै रहन्छन् ।

आफ्ना बालसखाको अन्तिम बिदाइ गर्नुपर्ने दिन यति छिट्टै आउँला भनेर पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कल्पना पनि गर्नुभएको थिएन । आफ्ना विधामा दुवै अब्बल । “मैले मेरा बालसखा गुमाएँ, उनीसँगका हरेक पलहरु सम्झनामा समेटिए, उनको मलाई जीवनभर अभाव खट्किरहने छ,” उहाँले शोकविह्वल हुँदै भन्नुभयो ।

डा देवकोटाले ३५ वर्ष अगाडि नेपालमा नभएको दुर्लभ र जटिल मानिएको स्नायु सेवा शुरु गर्नुभएको हो । नेपालमा उहाँको नाम जति सम्मान र गर्वका साथ लिने गरिन्छ दक्षिण एशियाली मुलुकमै पनि उहाँ उत्तिकै लोकप्रिय भएको वरिष्ठ जनरल सर्जन धु्रव मुडवरीको अनुभव छ ।

“यत्तिको दृढ, आत्मविश्वासी र कठिन परिस्थितिमा विचलित नहुने प्रतिभावान्, आफ्ना गुरुहरुलाई गर्ने सम्मानले मन सधँै खुशी हुन्थ्यो, फेरि यस्तो व्यक्ति देशले पाउन वर्षौंवर्ष लाग्नेछ,” उहाँले भन्नुभयो । डा मुडवरीलाई डा देवकोटाले परिवारको सदस्य बनाउनुभएको थियो । बिरामीप्रतिको इमान्दारिता र समग्र स्वास्थ्य सेवामा चिन्ता गर्ने स्वभाव कमैमात्र व्यक्तिमा हुन्छ भन्ने डा मुडवरीलाई लाग्छ ।

छोटो समयका लागि स्वास्थ्यमन्त्री बन्नुभएका देवकोटाले चाहने हो भने छोटो समयमा उत्कृष्ट काम गर्न सकिन्छ भन्ने नजिर बसालेको प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइराला सम्झनुहुन्छ । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा कोइराला र डा देवकोटा पनि मन्त्री हुनुहुन्थ्यो । प्रदेश प्रमुख कोइरालाले देवकोटाका बारेमा कुरा गर्दै गर्दा उहाँको शोक आँशु बनी बगिरहेको थियो ।

नेपालका लागि बेलायती राजदूत रिचर्ड मरिसले उहाँजस्तो प्रतिभावान् व्यक्ति कमैमात्र जन्मिने बताउनुभयो । राससलाई प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “उहाँ सफल, मेहनती, इमान्दार चिकित्सक हुनाका साथै असल व्यक्ति पनि हुनुहुन्थ्यो, उहाँको अभाव खट्किरहने छ ।” कल्पना पौडेल (रासस)

प्रकाशित मिति: Jun 19, 2018

प्रतिक्रिया दिनुहोस्