Logo
५ जेष्ठ २०८१, शनिबार
(June 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चौधरी र क्षेत्रीको नेतृत्वमा फोरम लोकतान्त्रिक समूहले खाेले छुट्टै पार्टी

काठमाण्डौ, २४ जेठ :  नेपाली कांग्रेससंग एकिकरण गरेर फेरि मातृ पार्टीमै फर्किएका विजय गच्छदार नेतृत्वकमा तत्कालीन फोरम लोकतान्त्रिकका असन्तुष्ट नेताहरुले छुटै पार्टी स्थापना गरेका छन् । तत्कापलन फोरम लोकतान्त्रिकका उपाध्यक्ष भानुराम चौधरी र गीता क्षेत्री लगायतको नेतृत्वमा नेपाल लोकतान्त्रिक पार्टी नामक नयाँ पार्टी स्थापना भएको हो ।

‘नेपाल लोकतान्त्रिक पार्टी भनेर नयाँ दल निर्माण गरेका छौँ,’ क्षेत्रीले भनिन्, ‘कांग्रेसमा बस्ने वातावरण अहिलेसम्म नभएपछि हामीहरु यतातिर लाग्न बाध्य भयौँ।’ एकीकरण पश्चात भूमिकाविहीन अवस्थामा रहेका असन्तुष्ट नव प्रवेशीहरुलाई समेटेर निर्माण गरिएको यो दलको अध्यक्षमा भानुराम चौधरी छन् भने सहअध्यक्षमा गीता छन् ।

७१ सदस्यीय तदर्थ समिति निर्माण गरिएको यो पार्टीको केन्द्रीय समिति १ सय २१ सदस्यीय बनाइने जनाइएको छ । २० जेठमा यो पार्टीको कार्यसमिति निर्माण गरिएको हो। निर्वाचन आयोगमा दर्ता गराइसकिएको यो पार्टीका अध्यक्ष भानुराम भने तत्कालीन थरुहट तराई पार्टी नेपालका अध्यक्ष थिए । भानुरामले आफ्नो पार्टीलाई २०७४ वैशाखमा फोरम लोकतान्त्रिकमा एकीकरण गरेका थिए।

निर्वाचनलाई लक्षित गरेर फोरम लोकतान्त्रिकसँगको एकीकरणलाई जोड दिएका भानुरामका लागि पनि कांग्रेससँगको अर्को एकता पाच्य बनेन । फोरम लोकतान्त्रिकबाट प्रतिनिधिसभाका लागि बन्द सूचीको पहिलो नम्बरमा अटाएका भानुरामका लागि पनि कांग्रेससँगको एकताले त्यो योजनामाथि तुषारापात गरिदियो ।

अन्ततः उनले एकतालाई ठाडै अस्वीकार गरिदिए । ‘कांग्रेससँगको एकता नै थिएन,’ भानुरामले भने, ‘चार पाँचजना नेताहरु कांग्रेसमा प्रवेश गरेको मात्रै हो, तर त्यो प्रकृयामा सामेलै नभएको मैले अर्को पार्टीलाई जन्म दिएको छु ।’ मूलतः यो नयाँ पार्टीमा भानुराम अध्यक्ष रहेको तत्कालीन थरुहट तराई पार्टी नेपालको खेमालाई नै आफूतिर तानेका छन्।

थरुहटबाटै फोरम लोकतान्त्रिक हुँदै अहिले कांग्रेससम्म पुगेका गोपाल दहितले भानुरामको साथ छोडेका छन्, उनी कांग्रेसमै छन् । ‘बहुमत सदस्य हाम्रो पक्षमा हुनुहुन्छ,’ तत्कालीन थरुहट समूहको अंकगणीतीय हिसाब गर्दै उनले भने, ‘सबैचाहिँ आउनु भएको छैन।’

यता नेपाली कांग्रेसले पार्टीको विधि र विधानअनुसार यो समस्याको निराकरण हुने बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले फोरम लोकतान्त्रिक पार्टीबाट एकीकरण भएर कांग्रेसमा आएका सबै नेता तथा कार्यकर्ताहरु अब कांग्रेसको सदस्य भैसकेकाले जिम्मेवारी बाँडफाँडको कुरा विधानतः हुने बताए ।

‘विधानअनुसार उहाँहरु सबैको जिम्मेवारी बाँडफाँड हुन्छ,’ उनले भने, ‘पार्टी यो बिषयमा निकै गम्भीर बन्दै आएको कुरा हो, पार्टीका कोही पनि नेता कार्यकर्ताहरुलाई काखा र पाखाको अवस्था आउने छैन।’

प्रकाशित मिति: Jun 7, 2018

प्रतिक्रिया दिनुहोस्