Logo
२९ असार २०८२, आईतबार
(June 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने वीरका २ डाक्टर विरुद्ध मुद्दा दायर

काठमाडौं, २२ जेठ : बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने वीर अस्पतालका दुई डाक्टरविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार वीर अस्पतालमा सातौं तहमा रेडियोग्राफर अधिकृतका रुपमा कार्यरत कृष्णप्रसाद तिमिल्सिना र सेवा आयोगको सचिव पदमा कार्यरत लक्ष्मणप्रसाद अर्यालसहित ४ जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।

यसैगरी नक्कली रिपोर्ट बनाउन लगाउने विरुद्ध पनि मुद्दा दायर गरिएको छ। प्रवक्ता दंगालका अनुसार तिमिल्सिना र अर्यालले जबरजस्ती करणी उद्योग मुद्दाका प्रतिवादी उद्धवप्रसाद नेपाललाई उक्त मुद्दाबाट छुटाउन ५० हजार रुपैयाँ लिएर करणी उद्योग गर्ने मितिमा उपचार गराएको देखिने नक्कली किर्ते कागजात (मेडिकल रिपोर्ट) बनाइदिएका थिए।

उनका अनुसार तिमिल्सिना र अर्यालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम र वीर अस्पतालको कागजात अनाधिकृत रुपमा गैरकानूनी तवरले थपघट तथा हेरफेर गर्ने केदारनाथ पराजुली तथा जबरजस्ती करणी मुद्दाबाट छुटकारा पाउने उद्देश्यले आफैले बनाएको किर्ते कागजात अदालतमा पेश गर्ने उद्धव नेपालविरुद्ध दफा ११ बमोजिम जरिवाना र कैद सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हाे।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अभियुक्तका ससुरा केदारनाथ पराजुलीबाट ५० हजार लिएर वीरका चिकित्सकले जबरजस्ती गरेको दिन अस्पतालमा उपचाररत रहेको भनी गलत रिपोर्ट बनाएको र अभियुक्तले सो नक्कली कागजात पुनरावेदन (हाल उच्च) अदालत पाटनमा पेश गरेको उजुरी दिएपछि अख्तियारले छानविन थालेको थियो।

छानविनमा चिकित्सकले नक्कली रिपोर्ट बनाएको र अभियुक्त उद्धव नेपालले जबरजस्ती करणी मुद्दाबाट छुटकारा पाउने उद्देश्यले आफैले बनाएको किर्ते कागजात अदालतमा पेश गरेको भेटिएको प्रवक्ता दंगालले बताए।

 

प्रकाशित मिति: Jun 5, 2018

प्रतिक्रिया दिनुहोस्