Logo
२९ बैशाख २०८१, शनिबार
(June 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवा सरकारले गरेका निर्णयहरु बदर गर्ने ओली सरकारको तयारी

काठमाण्डौ, जेठ २० : मन्त्रिपरिषदको बैठकले सोमवार गरेको औपचारिक निर्णयहरु बाहिर आए पनि बैठकका क्रममा भएका अन्य छलफलहरु गोप्य राख्ने प्रयास गरिएको पाइएको छ ।  मन्त्रीपरिषद बैठकका क्रममा अबका दिनमा सरकारले के कस्ता काम कारबाही गर्ने भन्ने विषयमा अनौपचारिक छलफल भएको थियो ।

छलफलका क्रममा देशका विभिन्न क्षेत्रमा हुँदै आएका सिन्डिकेट अन्त्य गर्ने कुरालाई प्राथमिकता दिइएको थियो ।त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई अझै कमजोर बनाउनका लागि विभिन्न रणनीति अपनाउने विषयमा पनि छलफल भएको बताइएको छ ।

विभिन्न अस्त्र प्रयोग गर्दै कांग्रेसका नेताहरुलाई समस्या पार्ने र गलत प्रवृत्तिको भण्डाफोर गर्ने रणनीतिका विषयमा मन्त्रीहरुबीच छलफल भएको थियो । सम्भव भएसम्म विभिन्न बहानामा कांग्रेसका नेताहरुलाई जेल हाल्नेसम्मका रणनीति तयार पार्न लागिएको बुझिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त रहेको प्रमुख आयुक्त तत्काल नियुक्त गरेर भ्रष्टाचारको अभियोगमा विभिन्न नेताहरुलाई मुद्दा चलाउने सरकारको तयारी छ । सबै भ्रष्टहरुलाई कारबाही गर्ने सरकारको नीति भए पनि विगतमा सरकारमा रहँदा भ्रष्टाचार गरेका कांग्रेसका नेताहरुलाई पहिलो प्रहार गर्ने सरकारको रणनीति छ ।

आजको बैठकमा यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका महत्वपूर्ण निर्णय र नियुक्ति बदर गर्ने विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति: Jun 4, 2018

प्रतिक्रिया दिनुहोस्