नेपालको सार्वभौकिता माथि प्रहार गर्ने भाजपाका सांसद आजाद माथि कारवाहीको माग
जनकपुरधाम :नेपाली काँग्रेस धनुषाका सभापति एवम् प्रदेश नंं २ का संसदीय दलका नेता रामसरोज यादवले भारतीय जनता पार्टीका विहारस्थित सांसद कृति आजादले जनकपुरधामलाई भारतमा मिलाउनु पर्ने विषयमा दिएको अभिव्यक्तिको कडा रुपमा विरोध गर्दै कारवाहीको माग गरेका छन् ।
पार्टी कार्यालयमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा सभापति यादवले भाजपाका सांसद आजादले ट्वीट गरेर र फेसवुक मार्फत दिएको अभिव्यक्ति सार्वभौम स्वतन्त्र राष्ट्रप्रतिको अपमान भएको भन्दै उनी माथि कडा कारवाही गर्नका लागि नेपाल सरकार तथा भारत सरकारसंग माग गरे । उनले नेपालमा ग्रेटर नेपालको कुरा उठीरहेको बेलामा सन् १८१६ मा भएको सुगौलि सन्धि अनुसार पहिलाको नेपालको भूभागवाट प्रतिनिधित्व गरेको भाजपाका सांसद आजाद माथि कडा कारवाहीका लागि पहल गर्नका लागि पनि नेपाल सरकारसंग माग गरे ।