Logo
३ जेष्ठ २०८१, बिहीबार
(May 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बङ्गलादेशको राजधानी ढाकामा सप्ताहव्यापी नेपाल कला मेला बङ्गलादेश – २०१८ सुरु

काठमाडौं : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँग दुई वर्ष अगाडि भएको सम्झौतापत्रअनुसार बङ्गलादेश शिल्पकला एकेडेमी र बङ्गलादेश संस्कृति मन्त्रालयको आयोजनामा नेपाल कला मेला बङ्गलादेश – २०१८ बङ्गलादेशको राजधानी ढाकामा बैशाख २४ गते सोमबारदेखि सुरु भएको छ । ढाकास्थित बङ्गलादेश शिल्पकला एकेडेमीमा एक सप्ताहसम्म चल्ने मेलाको सोमबार साँझ बङ्गलादेशका संस्कृति मन्त्री असादुजमान नुरले उद्घाटन गरे ।

बङ्गलादेश शिल्पकला एकेडेमीका महानिर्देशक लियाकत अली लक्कीको सभापतित्वमा भएको उद्घाटन समारोहमा विशिष्ट अतिथिका रुपमा नेपाल ललितकला प्रतिष्ठानकी कुलपति रागिनी उपाध्याय, बङ्गलादेश संस्कृति मन्त्रालयका सचिव नासिर उद्दिन अहमद र ढाकास्थित नेपाली दूतावासका प्रतिनिधि धनबहादुर ओलीले सम्बोधन गरेका थिए ।

नेपाली कला र संस्कृतिको अन्तर्राष्ट्रिय प्रचारप्रसारमा कला मेलाको महत्व र यसले दुई मित्र राष्ट्रबीचको सम्बन्धमा पार्ने सकारात्मक प्रभावबारे वक्ताहरुले धारणा राखेका थिए । त्यस अवसरमा पोखरेली पानी रङ्गका कलाकार मनोज तामाङ, भक्तपुरका कलाकार कान्छाकाजी भासिमा र सप्तरीकी मिथिला कलाकार रन्जु यादवले कलाप्रेमीहरुको आग्रहमा On the Spot Demonstration (प्रदर्शनी स्थालमै प्रत्यक्ष चित्रहरु) कोरेका थिए । मेलामा ६० जना नेपाली कलाकारका समसामयिक चित्रकला, लोककला र हस्तकला विधाका कलाकृतिहरु प्र्रर्दशनमा राखिएको छ ।

प्रदर्शित कलाकृतिको छनोट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कला प्रदर्शनीहरुमा पुरस्कृत भएकाहरुबाट गरिएको प्रतिष्ठनको लोककला विभागका प्रमुख एस.सी. सुमनले बताए । मेलामा सहभागी हुन नेपाल ललितकला प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायको नेतृत्वमा नौ जना नेपाली कलाकार ढाका पुगेका छन् ।

प्रकाशित मिति: May 8, 2018

प्रतिक्रिया दिनुहोस्