Logo
३२ जेष्ठ २०८२, शनिबार
(May 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यातायात सञ्चालनमा रोक, देशभरको जनजीवन प्रभावित

काठमाडौँ: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट विसं २०७४ चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालनमा रोक लगाएको छ ।

महासंघले व्यवसायीसँग छलफल नगरी सरकारले यातायात निर्देशिका जारी गरेको भन्दै आज देशभरका यातायात सञ्चालनमा रोक लगाएपछि उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भएको छ ।

महासंघका महासचिव सरोज सिटौलाले व्यवसायीले यातायात राम्रो बनाउनका लागि सरकार, व्यवसायी र उपभोक्ता रहने गरी अधिकार सम्पन्न प्राधिकरणको माग गरिरहेका बेला सरकारले अकस्मात् ढंगले निर्देशिका जारी गरेको भन्दै आफूहरुले सवारी संचालन बन्द गर्नुपरेको बताए ।

“यातायात क्षेत्रमा देखिएको विकृतिको अन्त्य गर्ने हाम्रो पनि उद्देश्य हो, तर सरकार बिना छलफल चल्न खोजेपछि उक्त कदम चाल्न बाध्य भएका हौँ,” उनले भने । महासचिव सिटौलाले आफ्नो माग सुनुवाइ नभए चरणबद्ध आन्दोलन गर्नेसमेत बताए ।

अर्कातिर, कम्पनीमा आबद्ध यातायात व्यवसायीले भने आफ्नो सेवालाई आज पनि निरन्तरता दिने भएका छन् । बिहीबार कम्पनीमा आबद्ध व्यवसायीको यातायात व्यवस्था विभागमा भएको छलफलपछि सेवा दिन तयार रहेको टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान) का महासचिव कृष्ण आचार्यले जानकारी दिए । “हामीलाई राज्यले सुरक्षा दिन्छ भने हाम्रो कम्पनीअन्तर्गतका सबै सवारीसाधन सडकमा गुडाउँछौँ,” उनले भने ।

महासंघअन्तर्गत अहिले देशभरका ३०५ समितिमा झण्डै चार लाख सार्वजनिक यातायात सञ्चालनमा छन् ।

प्रकाशित मिति: May 4, 2018

प्रतिक्रिया दिनुहोस्