प्रधानमन्त्री ओलीद्वारा चार सडक र एउटा पुलको शिलान्यास
झापा: प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा चारवटा सडक र एउटा पुलको शिलान्यास गरेका छन। रु ७७ करोड १५ लाख ५८ हजारको लागतमा निर्माण हुन लागेका चार सडक र २३ करोड ६९ लाखको लागतमा विरिङ खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गरेका हुन ।
ग्रामीण सडक सञ्जाल आयोजनाअन्तर्गत चारपाने–चैतुवारी–मतीगढा–साँघुटार–घोडामारी–राजगढ सडकको शिलान्यास भएको छ ।
चारपाने चोकबाट शुरु विन्दु भएर राजगढ बजारसम्मको सडक स्तरोन्नति कार्यको प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन । सडकको लम्बाई १५ दशमलब ६ किलोमिटर रहेको छ । सो सडकले हुलाकी राजमार्ग छोएको छ । सडक निर्माणका लागि एशियाली विकास बैंकको ८० प्रतिशत लगानी र नेपाल सरकारको २० प्रतिशत लगानी गरी रु १८ करोड ५७ लाख ९० हजार ४५६ मा निर्माण हुँदैछ ।
सडक निर्माणसँगै राजमार्ग दक्षिणका ५८ हजार ७६५ जनसंख्या प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।
गुणस्तरीय सर्वायाम सडक सञ्जालको विकास गरी दुई वा दुईभन्दा बढी ग्रामीण वस्तीहरू आर्थिक, सामाजिक केन्द्रहरू वा कृषि क्षेत्रहरू बजारबीच पहुँच अभिवृद्धि गर्न सडक निर्माण कार्य शुरु गरिएको छ ।
पूर्वाधार विकासमा संलग्न निकायको क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विकास ९डोलिडार०अन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार योजना कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंकबीच सम्झौताबमोजिम सो सडकको स्तरोन्नति कार्य शुरु भएको छ ।
विसं २०८० वैशाखसम्ममा काम सक्ने गरी सडकको स्तरोन्नति कार्यको शिलान्यास भएको छ । कालोपत्रेस्तरमा सडकको स्तरोन्नति तथा कार्य सम्पादनमा आधारित मर्मत गर्ने आयोजनाको मुख्य काम रहने छ ।
यसैगरी खर्साङवारी–जलथल–अधिकारी चोक सडक खण्डको शिलान्यास भएको छ । सो सडकको लम्बाई ६ दशमलब ५ किलोमिटर छ ।
यता आमलडाँगी–समयगढ–सोलमारी सडक ११ दशमलब ५ किलोमिटर र पाडाजुंगी–झर्का–चप्रामारी–खजुरगाछी १० किलोमिटर गरी जम्मा ४३ दशमलब ५ किलोमिटर सडकखण्डलाई कालोपत्रेस्तरमा स्तरोन्नति गरिने भएको छ ।
पाडाजुंगी–झर्का–बालुवथान–चप्रपामारी–खजुरगाछी सडक आयोजनाको लागत २० करोड ७३ लाख ८३ हजार ९१० रहेको बताइएको छ । यो आयोजना समेत २०८० साल वैशाखमा सम्पन्न भइसक्नुपर्ने सम्झौता भएको छ ।
यता कनकाई नगरपालिकाको लक्ष्मीपुर–साधुटार सडकखण्डको उद्घाटन गरिएको छ । रु नौ करोड ८० लाख ६५ हजार ६४९ को लागतमा निर्माण गरिएको सडकले चुरे राजमार्ग छुने छ ।
योसँगै प्रधानमन्त्री ओलीले आजै अर्जुनधारा नगरपालिका भएर बग्ने विरीङ खोलामा पक्की पुलको पनि शिलान्यास गरेका छन ।
विभिन्न विकास निर्माणको शिलान्यास र उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले झापा धान ‘सुपरजोन’को जिल्ला मात्र नभई हरेक कृषि क्षेत्रलाई ‘सुपरजोन’ बनाउन सकिने बताए ।
उहाँले गाउँ, वस्ती र शहरका गुरुयोजना तयार गरेर कृषि तथा औद्योगिक क्षेत्रमा काम गर्न जनप्रतिनिधिलाई सुझाव दिएका छन ।
प्रधानमन्त्री ओलीले अब व्यवस्थित वस्ती र शहर बनाउनुपर्ने भन्दै सुकुम्बासीको नाममा जहाँ पायो त्यहाँ छाप्रो हाल्न नपाइने बताए। उनले सबै मानिस गरिखाने बाटोतिर लाग्नुपर्ने भन्दै त्यसको व्यवस्था सरकारले गर्ने बताए।
अस्पताल, शिक्षालय, बजार, मनोरञ्जन स्थललगायत एकै ठाउँमा भएका व्यवस्थित शहर निर्माण गर्नुपर्ने अबको योजना भएकाले निर्वाचित जनप्रतिनिधिलाई त्यसतर्फ ध्यान केन्द्रित गर्न उनको सुझाव थियो । रासस