नागढुंगाबाट बहुमूल्य पत्थर रूबी बरामद
काठमाडौं: प्रहरीले बहुमूल्य पत्थर रुबीसहित एक जनालाई पक्राउ गरेकाे छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले नियमित चेकजाँच क्रममा ४६२ ग्राम (२३१० क्यारेट) रुबीसहित सूर्य तामाङलाई पक्रेको हो ।
नागढुंगा चेकपोष्टमा सवारीसाधन जाँचगर्ने क्रममा धादिङबाट काठमाडौंतर्फ आउँदै गरेकाे बा ४ ख ५८४६ नम्बरको माइक्रोमा सवार धादिङ निलकण्ठ नगरपालिका–४ का २१ वर्षीय सूर्य तामाङकाे साथबाट रुबीसहित पक्राउ गरेकाे हो ।
महानगरीय प्रहरी वृत्त थानकोटको हिरासतमा रहेका तामाङले उक्त पत्थर आफूलाई आवश्यक रहेकोले ल्याएको मात्र प्रारम्भिक बयान दिएका छन् । वृत्तका प्रमुख डिएसपी महेन्द्र नेपालले आरोपीसँग बिस्तृत्त बयान लिएपछि मात्र उक्त पत्थर कहाँबाट आएको हो थाह हुने बताए ।
‘हामी खनिजको अवैध उत्खन्न र ओसारपसार ऐनअनुसार कारवाही अघि बढाउँदै छौं, थप विवरण आउन सकेको छैन’, उनले भने । अन्तर्राष्ट्रिय जेम्स सोसाईटी र अमेरिकी जेम्स सोसाइटीकाे आधिकारिक वेबसाइटअनुसार रुबी प्रतिक्यारेट एक लाख अमेरिकी डलरदेखि १ हजार अमेरिकी डलरसम्म पर्दछ । रूबिकाे बजार मूल्य त्यसकाे रंग, स्पष्टता, कटाइ एवं क्यारेटले निर्धारण गर्छ ।